
जनकपुरधाममा नौ दिवसीय श्रीसीताराम नाम जप महायज्ञ आज सम्पन्न भएको छ ।
जनकपुरधामको वेङ्गाशिवपुरमा रहेको ५२ विघामा चैत्र ५ गतेवाट शुरु भएर १४ गतेसम्म चलेको महायज्ञमा सहभागि भएका कीर्तन मण्डलीहरुलाई आज दक्षिणा प्रदान गरेर विदाई गरिएको छ ।
श्रीसीताराम नाम जप महायज्ञमा ३ हजार ५ सय कीर्तनीया सहभागि रहेका थिए । महायज्ञमा रामार्चा पूजा, लखराम पूजासहितका अनुष्ठानहरु भएको जनकपुरधामको वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले जानकारी दिनु भएको छ ।
सो ठाउँमा गत पुस २ गते देखि नै अखण्ड कीर्तनको आयोजना गरिईएको थियो । भारतको सीतामढी पुनौराधामका तपस्वी सन्त बाबा राघवेन्द्र दासको अगुवाईमा भएको महायज्ञमा लाखौं भक्तजनहरु सहभागि भएका थिए । महायज्ञ समितिका संयोजक मुकेश यादवको अग्रसरतामा महायज्ञ भएका थिए ।
महायज्ञ समापन कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सभाका सदस्य रमिता प्रधानले धार्मिक सहिष्णता तथा सद्भाव मार्फत पनि देशको समृद्धि र विकास गर्ने धेरै उदाहरणहरु रहेको बताउनु भयो ।
बाबा राघवेन्द्र दासले मानव कल्याण तथा विश्व शान्तिका लागि आयोजना गरिएको महायज्ञले विश्वमा शान्ति, स्थिरता मानवको रक्षा हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यज्ञले जनतालाई जगाउने काम गर्ने भएकाले महायज्ञ माता सीताको जन्म भूमिमा गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।