
सिरहाको औरही गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गरिएको छ ।
जिल्लाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । सिरहा जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको छ ।
न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जनाए । उनीहरूसँगै बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो । बजरंजी बाबाको हकमा भने कानुनबमोजिम म्याद जारी हुने अधिकृत कुलुङले बताए ।
गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काएको थियो । औरही गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ मा पक्राउ परेका थिए । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यता जातीय विभेद गरिएको घटनाको अनुसन्धान सकी प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दामा छानबिन गर्दै प्रहरीले ६ दिनमै अनुसन्धान पूरा गरी बिहीबार प्रतिवेदन बुझाएको छ । जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतका अनुसार अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेको छ, र अहिले त्यसको अध्ययन भइरहेको छ ।
अध्ययनपछि अदालतमा अभियोगपत्र दायर गरिने उनले बताए । गत चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव जातीय विभेदसम्बन्धी घटनामा पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरङ्गी बाबाविरुद्ध पीडितबाट जाहेरी लिएको थियो ।