२०८१ चैत्र १७, आईतवार ०७:५०

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहर वस्तीमा ९० परिवारको बसोबास छ । सो वस्तीको जनसंख्या चार सयभन्दा बढी छ । यस वस्तीमा पानी पिउनेदेखि हातमुख धुने, नुहाउने र भाँडा माझ्नेसम्म उनीहरू एउटै ट्युबवेलको भर परिरहेका छन् ।

स्थानीय सोमिन्द्रदेवी सदाले एकाबिहान हातमुख धुन र पानी भर्नका लागि लाइनमै बस्नुपर्ने बाध्य रहेको बताइन् । उनले भनिन्, ‘हामीजस्ता निमुखाको समस्या कसले बुझ्छन् ? सिंगो बस्तीका दलित समुदायलाई यही एउटा ट्युबवेलको भर पर्नु परेको छ ।’ पालैपालो पानी भर्न र भाँडा माझ्न अप्ठयारो नभए पनि नुहाउन समस्या हुने गरेको सदाले दुखेसो पोखिन् । सो ट्युबवेल दुई वर्षअघि वडा कार्यालयबाट दिएको छ । एक मात्र ट्युबवेल हुँदा नुहाउन बढी समस्या पर्ने गरेको उनले बताए । सो वस्तीका बालबालिकालाई पढ्नका लागि पनि छुट्टै दलित राष्ट्रिय प्राथमिक विद्यालय छ ।

बालविकासदेखि कक्षा ४ सम्म पठनपाठन हुने सो विद्यालयमा ५४ जना छात्र र ६८ छात्रा गरी १ सय २२ जना छात्रछात्रा छन् । दुईवटा कोठामै बहुकक्षा सञ्चालन हुँदै आएको सो विद्यालयमा पानी र शौचालयको समेत व्यवस्था छैन । ‘यसअघि हामीले पुरानो भवनबाटै पठनपाठन गराउँदै आएका थियौं, त्यहाँ पनि दुई वटा कोठा मात्रै छ,’ विद्यालयकी प्रधानाध्यापक इन्द्रिरा ठाकुरले भनिन्, ‘गत वर्ष प्रदेश सरकारले दुईकोठे नयाँ भवन बनाइदिएपछि यहीँबाट पठनपाठन गरायौं, तर भवन फिनिसिङ नहुँदै बजेट सकियो, घेराबेरा पनि हुन सकेको छैन ।’

उनले ट्युबवेल र शौचालयका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताइन् । स्थानीय बासिन्दाले २०६१ सालमा चन्दा संकलन गरेर स्थापना गरेको सो विद्यालयमा प्रधानाध्यापकसहित दुईजना बालविकास शिक्षिका, एक जना शिक्षक र एक जना कार्यालय सहयोगी छन् । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले छिट्टै सो वस्तीमा ट्युबवेल जडान गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News