
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा निःशुल्क औषधि पाइन छाडेको छ । इमर्जेन्सीमा अत्यावश्यक सलाईनदेखि एन्टीबायोटिक औषधिहरुसमेत पाइन छाडेको छ ।
इमर्जेन्सी विभागमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधि नभएर सेवाग्राहीलाई सास्ती भइरहेको छ । हालै गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सीबाट उपचार गराएर फर्केका एक जना बिरामीका अनुसार अस्पातालमा निःशुल्क पाउनुपर्ने औषधि बाहिरको पसलबाट चर्को मूल्यमा किन्नुपर्ने बताए । उनले भने, ’एउटा औषधि दिनमा तीन पटकसम्म लेखिएको थियो, तीन दिनसम्म लगातार लगाए, अस्पातालमा निःशुल्क पाउने लिस्टमा लेखिएको थियो, तर त्यहाँ नभएर बाहिरबाट ल्याउनुपर्यो, एउटा औषधिको तीन सय रुपैयाँ तिर्नुपर्छ ।’
स्रोतले जनाए अनुसार इमर्जेन्सीमा स्टासेफ, मेटरोन, डिएनएस सलाईन तथा मेट्रोन औषधिको आभाव रहेको छ । अस्पातालमा औषधिको अभाव रहेको सो अस्पतालका मेसु प्रकाश प्रसाद स्विकारे । उनले टेन्डर भएको औषधिको भुक्तानी नभएकोले औषधि उपलब्ध हुन नसकेको पनि बताए ।