२०८१ चैत्र १७, आईतवार ०९:२१

धनुषा र महोत्तरी जोड्ने जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड पूर्ण रुपमा ठप्प पारेका छन् ।

आईतबार (आज) विहान ७ बजेदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । गत बुधबार पनि उनीहरुले सडक अवरुद्ध गरेका थिए । सो दिन जिल्ला प्रहरी कार्यालय धनुषाले हत्यामा संलग्न रहेको भनिएका अन्य अभियुक्तलाई समात्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर चार दिन बितिसक्दा पनि कोही पक्राउ नपरेको भन्दै पुनः आजबाट मृतक आँशुकी आमा र गाउँवासीहरु अनिश्चितकालिन सडक अवरुद्ध र धर्नामा बसेका छन् ।

चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ ।

Comment


Related News

Latest News

Trending News