
जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विहान देखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरी बीच झडप भएको छ ।
प्रहरीले सडक खोउने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरु प्रतिरोधमा उत्रेका थिए । सो क्रममा अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौं राउण्ड आश्रु ग्यास प्रहार गरेका छन् । स्थानीयले प्रहरीमाथी ढुंगामुढासमेत गरेका छन् । सो क्रममा दर्जनौ स्थानीय र प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले कति जना घाईते भएका छन् भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
गत चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।
आज विहानदेखि आँशुकी आमा र स्थानीय विन्धीवासीले जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरेका थिए ।