
सरकारद्वारा खोजी भइरहेका दुर्गा प्रसाईँले सरकारलाई खुला चुनौती दिएका छन्।
राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई थुन्न चुनौती दिएका हुन्।
प्रसाईँले सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै सरकारले राजावादी आन्दोलन दबाउन खोजेको आरोप लगाए। उनले भने, ‘सरकारले हिम्मत छ भने २४ घन्टाभित्र मलाई र राजालाई गिरफ्तार गरेर देखाओस्।’
सरकारले आन्दोलनलाई उग्र बनाउन प्रसाईँको संलग्नता रहेको दाबी गर्दै उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको छ। यसैक्रममा सुरक्षा निकायले उनको खोजी तीव्र बनाएको छ।
दुर्गा प्रसाईंको खोजीमा , सीआईबीसहित प्रहरीका ६ टोली सक्रिय
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसार्इंको खोजीमा सक्रिय छन् । तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन ।
प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए । उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ ।
खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।
प्रदर्शन अराजक बनाउने शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।