२०८१ चैत्र १८, सोमबार ०७:०१

मधेश कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरू आइतबारदेखि फेरि आन्दोलित भएका छन् ।

गत भदौँ महिनादेखि तलब नपाउँदा घरपरिवार चलाउन समस्या भएको भन्दै प्राध्यापक तथा कर्मचारीहरूले आइतबारदेखि ’पेन डाउन’ गरी आन्दोलन शुरु गरेका छन् ।

आन्दोलनका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । यसअघि गत फागुन १ गते प्राध्यापक र कर्मचारीहरूले तलब नपाएको भन्दै विश्वविद्यालयको प्रशासनिक भवनमा ताला लगाएका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतीशकुमार सिंहको उपस्थितिमा जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वपक्षीय भेलाबाट कर्मचारीलाई तलब दिने आवश्यक प्रक्रिया अपनाउने निर्णय भएपछि फागुन १० गते ताला खोलिएको थियो । फागुन २० गते भएको विश्वविद्यालयको सिनेट बैठकमा बहुमतले उपकुलपति डा. वैधनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेपछि विश्वविद्यालयमा विवाद फेरि चर्किएको थियो ।

सर्वोच्च अदालतले तत्काल पदमुक्त नगर्न अल्पकालीन आदेश जारी गरेपछि उपकुलपति डा. महतो र रजिस्ट्रार ठाकुर हाजिर भए पनि कर्मचारीहरूले अझै पनि तलब पाउन सकेका छैनन् । ‘अतितमा विश्वविद्यालय सभाबाट नीति र कार्यक्रम पास नहुँदा तलब दिन सकिएको थिएन,’ रजिस्ट्रार ठाकुरले भने, ‘ अहिले नीति र कार्यक्रमको खर्च गर्ने अख्तियारी प्राप्त हुन नसकेका कारण कर्मचारीलाई तलब दिन सकिएको छैन ।’

Comment


Related News

Latest News

Trending News