
ज्ञानेन्द्र शाहजीले पढ्न नसकेको महात्मा गान्धीको एक उद्धरण छ । गान्धीले भन्नु भाथ्यो– “अहिंसाको बिचार निःशस्त्र व्यक्तिको भन्दा सशस्त्र व्यक्तिको मनमा रहनु जरूरी छ ।” अथ्र्याउनु नपर्ला, एक शसस्त्र व्यक्ति बौलायो भने सयौंको ज्यान जान सक्छ । जबकि, एक अहिंसक आन्दोलनकारीले हठ नै गरे भने उ स्वयं मर्छ ।
कुनै आन्दोलनका नेताले यदि आन्दोलनमा हिंसक चरित्रका, उच्छृँखल वा गुण्डा तत्वहरूलाई दुरूत्साहन दिन्छ, सहभागी गराउँछ भने निःशंक रूपमा उसले हिंसालाई बढाएको मानिन्छ । यसका विरूद्ध कुनै कुतर्कको स्थान रहदैन, जुन चैत्र १५ गतेका काठमाण्डूमा ज्ञानेन्द्र शाहले कलाबिहीन तवरमा मंचन गरेएका हुन् । यसका कर्ता र पोषक स्वयं यिनी हुन् ।
दुर्भाग्यबश यिनले अहिले सम्म यस कुकृत्यको नैतिक जिम्मेवारी लिएका छैनन् । आन्दोलनकारीले आन्दोलन यदि निर्दिष्ठ उद्देश्य भन्दा विपरीत दिशामा बहकियो भने तेसलाई रोक्ने हैसियत राख्न सक्नु पर्दछ । यसका लागि विभिन्न मुलुकहरूमा भएका आन्दोलनहरूका दृष्टान्त दिइ रहनु पर्दैन । जीवन भर जनताको दमन मात्र गर्ने सोचका ज्ञानेन्द्र शाहले शायद आफ्नै मुलुकमा घटित आन्दोलनहरूका हेक्का राखेको भए मैले यसो याद गराउनु पर्दैन्थ्यो । वि.स. ०७ सालको क्रान्तिमा दिल्ली सम्झौता भयो । बस्तुतः दिल्ली सम्झौता दिल्ली र मोहन शम्सेरका बीच भयो। यसमा क्रान्तिका नायक दल नेपाली काँग्रेसलाई बाहिर राखियो ।
जुन सम्झौताबाट ज्ञानेन्द्र शाहका बाजे राजा त्रिभुवनको गद्दी जोगियो, स्मरणीय छ– दिल्ली पलायन गरेको त्रिभुवनलाई पदच्यूत गरी मोहन शम्सेरले बालक रहेका यिनै ज्ञानेन्द्रलाई श्रीपेजलाई दिएर राजा बनाएका थिए । यस सम्झौतालाई अमान्य गर्दै डा. के.आई. सिंहले सशस्त्र विद्रोह गरे । यसको कथा लामो छ । मैले यति मात्र उल्लेख गर्न चाहेको हुँ कि ०७ सालको क्रान्तिमा दिल्ली सम्झौताबाट जे जति उपलब्धिहरू प्राप्त भएको थियो, त्यसको महत्वलाई बुझेर बीपी कोइराला र क्रान्तिका नायकहरूले डा. के.आई. सिंहको विद्रोहलाई अनुचित तथा अनावश्यक भन्दै आलोचना मात्र गरेनन् ।
डा. के.आई. सिंहलाई समेत नियन्त्रणमा लिए । यो सहास र नैतिक दायित्व क्रान्तिका नेताहरूले देखाए । यसपछि काठमाण्डूमा भएको एक प्रदर्शनका दौरान पुलिसको गोलीबाट चिनियाँ काजीको हत्या भयो । स्वयं प्रधानमन्त्री मोहन शम्सेर, बबर शम्सेरहरूले नचाहदाँ चाहँदै बीपी कोइरालाले क्रान्ति पछिको अन्तरिम सरकारको गृहमन्त्रीको पदबाट राजिनामा दिनु भयो ।
सारा संसार एक राजनेताको त्यस जिम्मेवारी एवं दायित्वलाई हेरी चकित थियो । यस अघिको पूर्वी नेपालको माझ किरात तथा लिम्बुआनमा भएको विद्रोहको चर्चा यहाँ उतिकै समिचिन हुन्छ । त्यस बेलाका बुढापाका जो जीवित छ, याद होला । जसले इतिहासको अध्ययन गरेको छ, सम्झिएको हुनुपर्छ । यो भनाइ दशकौंसम्म चर्चामा रह्यो– “तेरो घरमा काँग्रेस पसोस् ।”
पछि पञ्चहरूले सर्वाधिक रूपमा यसलाई बोल्दै काँग्रेसलाई सराप्दै गरे । सात सालताका अधिकांश जमिन्दार तथा विर्तवाल, सामन्तीहरू राणालाई साथ दिए । यसमध्येका अधिकांश राजाका भारदारी सभामा थिए । नेपाली काँग्रेसका अधिकांश लडाकाहरू विशेषत मुक्ति सेनामा राई, लिम्बु जस्ता आदिवासी– जनजातिहरूको अधिकांश थियो । सात सालको क्रान्ति सफल भएपछि यी लडाका मुक्ति सैनिकहरू राणाहरूलाई सहयोग गरेका जमिन्दार, विर्तवाल तथा सामन्तिहरूको विरूद्ध जाई लागे । कोशी पूर्व र पश्चिम, अरूण पूर्व र पश्चिमका माझ किरात तथा लिम्बुआनमा व्यापक लुटपाट मच्चियो ।
बीपी कोइरालाले मुक्ति सेनाका कमाण्डरहरू जिबी याकथुम्वा तथा नेताहरूका साथ तेस क्षेत्रको पैदल भ्रमण गर्नु भयो । यस्ता गतिविधिहरूलाई तत्काल रोक्न आह्वान गर्नु भयो । यी सब घटनाहरूको नैतिक जिम्मेवारी लिएर त्यस वारदातहरूलाई ठाँउ का ठाम रोक्नु भयो । राजा महेन्द्रले ०१७ सालमा सैनिक कू गरी संसदीय व्यवस्था समाप्त गरेपछि बीपी लगायत असंख्य नेता कार्यकर्ताहरू जेलमा हालिए । नेपाली काँग्रेसका अर्का ठुला नेता सूवर्ण शम्सेर भारतको प्रवासमा रहनु भयो ।
बि.स. २०१८ सालमा उहाँको नेतृत्वमा राजाका कदमको विरूद्ध सशस्त्र प्रतिरोध शुरू भयो । जनकपुरमा राजा महेन्द्रको जीपमा बम प्रहार गरियो । तनहुँको बन्दिपुरमा भएको आक्रमण, चितौनको आक्रमण चर्चित रहेका छन् । बालकृष्ण समका छोरी ज्वाईलाई राजाले ज्यूँदै खाल्डो खनेर पुर्न लगाए । सयौं शहीद पारिए । मारिए कथा लामो छ, भयावह छ । यो निर्णायक विन्दुमा पुग्नै लाग्दा भारत र चीनका बीच सीमायुद्ध प्रारम्भ भयो । यस्तो अवस्थामा भारतको भुमिबाट नेपालमा सेना एवं सरकारका विरूद्ध सशस्त्र कारबाही हुदाँ चीनले नेपालमा प्रवेश गरी भारतका विरूद्ध सैन्य कारबाही गरे नेपाली सार्वभौमसत्तामा आघात पर्न सक्छ भनी सूवर्णजीले यसलाई स्थगन गराउनु भयो । नेपाली काँग्रेसका लडाकाहरूले यस निर्णयको व्यापक विरोध गरे ।
कयौं स्थानमा प्रतिविद्रोह भयो । तर, सूवर्णजीको सुझबुझले रोकियो । नेपाली काँग्रेस भित्र विभाजनको रेखा कोरियो । तर, नेतृत्व बलियो थियो, प्रभावशाली थियो । कसैको चलेन । यसले गर्दा राजाको तानाशाही शासन पछि ३२ बर्षसम्म कायम रहन गयो । बीपी कोइराला, गणेशमान सिंहहरू लगातार आठ वर्षको जेल जीवन पछि वि.स. २०२६ सालमा रिहा हुनु भयो । पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा उहाँ भारतमा निर्वासित हुनु भयो र बि.स. २०२९ साल पश्चात बीपीको नेतृत्वमा पञ्चायती व्यवस्था तथा राजाका विरूद्ध सशस्त्र आन्दोलन प्रारम्भ भयो । यस दौरान अनेकन् बम काण्डहरू भए । प्रत्याक्रमणहरू भए । विमान अपहरण भयो । हरिपुर आक्रमण जस्ता कयौं कारबाहीहरू भयो, यस मध्येका सबै भन्दा चर्चित राजा वीरेन्द्रको बिराटनगर आगमनमा बम प्रहार तथा ओखलढुंगा टिमुरबोटेको काण्ड हो । ओखलढुंगामा विलक्षण क्रान्तिकारीहरू राम, लक्ष्मण दाजुभाई लगायत सेनाको घेरामा परेपछि मारिए ।
यहाँ पक्रिएका क्याप्टन यज्ञबहादुर थापा र बिराटनगर बमकाण्डमा आरोपित भीमनारायण श्रेष्ठलाई अदालतको फैसला गराइ गोली हानी मारियो । यस घटनाबाट बीपी कोइरालालाई ठूलो धक्का लाग्यो र उहाँले तत्काल सशस्त्र आन्दोलनलाई रोक्नु भयो । जो सुकैले अनुमान गर्न सक्छ कि वर्षौंको तयारी, शस्त्र संचय तथा परिचालन जारी रहेको अवस्थामा एक्कासी सशस्त्र कारबाहीलाई रोक्न सक्नु कति चुनौतीको कुरा हो, जुन बीपीले वहन गर्नु भयो । वि.स. २०३६ सालको विद्यार्थी आन्दोलका पुस्ता अहिले राजनीतिमा सक्रिय नै छन् । काँग्रेस र कम्युनिष्ट दुबै तिरबाट । जनमत संग्रहको घोषणा यस आन्दोलनको ऐतिहासिक उपलब्धि थियो ।
यसलाई स्वीकार गर्नु कम ठूलो चुनौतीको विषय थिएन । आन्दोलन उत्कर्षमा पुगेका बेला, राजा वीरेन्द्रको शासन धरापमा परेपछि “सुधारिएको पञ्चायती व्यवस्था” कि “बहुदलीय व्यवस्था” छान्नका लागि जनमत संग्रह गरिने शाही घोषणा भयो । यसलाई स्वीकार गर्दै बीपीले जनमत संग्रहलाई स्वीकार गर्नु भयो । पार्टी भित्रबाट गणेशमानजीको आसन्न विद्रोह र सडकमा विद्यार्थीहरूको प्रतिरोध देखियो । त्यस विद्यार्थी आन्दोलनका चर्चित नेताहरू नेवि संघका बलबहादुर केसी र अनेर ास्ववियूका शरणविक्रम मल्ललाई, जनमत संग्रह स्वीकार गरेको भनी आक्रोशित विद्यार्थीहरूको हूलले त्रिवि कीर्तिपुरबाट घचारेर ल्याइ न्युरोड गेट नेरबाट जुताको माला लगाइ, कालो मोसो दली, ठेलामा बसाएर न्युरोड घुमाए । तर, बीपी अडिग रहनु भयो । आन्दोलन स्थगित नै भयो । कृतघ्न राजा र उसका शासनले अनेकन धाँधली गरेर पुरै मुलुक भरमा गरी जम्मा चार लाख मतको अन्तरले बहुदलीय व्यवस्थाको पक्षलाई पराजित गराए ।
कस्तो संयोग, त्यस बेलाका कर्ताधर्ता मध्येका एक प्रमुख नवराज सुवेदी अहिलेको कथित राजावादी आन्दोलनका संयोजक बनाइएका छन् । पञ्चायती व्यवस्थाको खिलाफमा निर्णायक आन्दोलनलाई अगाडि बढाउन गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालको नेतृत्वमा नेपाली काँग्रेसले लामो तयारी पछि वि.स. २०४२ सालमा शान्तिपुर्ण र अहिंसात्मक सत्याग्रहको थालनी ग¥यो । तत्कालीन कम्युनिष्टहरू पनि यसमा सहभागी भए । पञ्चायत हल्लियो । वि.स. २०१७ साल पछि सर्वाधिक राजबन्दीहरू मुलुक भरका जेलहरूमा कोचियो । यसैबीच सिंहदरबारको ग्यालरी बैठक जहाँ राष्ट्रिय पञ्चायतको बैठक जारी थियो– त्यहाँ, राजदरबारको गेटमा, दरबारको लगानी तथा संलग्नता रहेको पाँचतारे होटल अन्नपूर्णामा बम विस्फोटहरू भयो ।
रामराजा प्रसादले गणतन्त्र स्थापनाका लागि यी श्रृँखलाबद्ध बमकाण्डको जिम्मेवारी लियो । नेपाली काँग्रेसको अहिंसक सत्याग्रहको समानान्तर हिंसात्मक बारदातको प्रवेश भयो । सत्याग्रहको अक्षुण्णतामा हिंसाको छायाँ देखियो । पार्टी सभापति कृष्ण प्रसाद भट्टराईले गणेशमान सिंहको असहमतिलाई छेउ लाएर भए पनि सत्याग्रहलाई स्थगित गर्नु भयो । त्यही बेला ढल्ने राजाको पञ्चायती व्यवस्था अर्को चार वर्ष पछि वि.स. २०४६ को ऐतिहासिक पहिलो जन आन्दोलनको कारणले ढल्यो ।
आज पनि धेरैलाई याद होला, राजाबाट बाध्यतावश ०१७ सालमा अपहरित बहुदलीय संसदीय व्यवस्थाको पुनस्र्थापनाको घोषणा पछि टुडिखेलमा आयोजित इतिहासकै सायद सर्वाधिक महत्वपूर्ण सभामा गिरिजा प्रसाद कोइरालाले–यो जीत सबै नेपालीको, जनताको पनि र राजाको पनि” भनी बोल्नु भएपछि “राजाको होइन, होइन” भनी गिरिजा कोइरालालाई सभामा बोल्न दिइएन । सभा अवरूद्ध भयो । तर, नेपाली काँग्रेसका नेताहरू, कम्युनिष्टहरू विचलित भएनन् ।
आमजनतालाई नारायणहिटी राजदरबारको ढोका तिर बढन दिएन, जहाँ दरबारको योटा कुनामा सेनाको घेरा भित्र यी ज्ञानेन्द्र कतै लुकेर बसेका थिए होलान् । मैले यहाँ वि.स. २०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनको चर्चा गरिन । लाखौं जनता दरबार फोड्न हान्निएको बेला कसरी नेताहरूले जनताको उन्मेषलाई रोके, राजाको प्राणको रक्षा गराए– यो कम चुनौतीको कुरा थिएन । राजाले इतिहासमा जनतासंग, नेपाली काँग्रेससंग जुन घात गरेको थिए, जनतालाई रोक्न नसकेको भए नारायणहिटीका नालाहरूमा, टुकुचामा बगेका रगतको आहालमा बगिरहेका मासुका टुक्राहरू, चोइटिएर छरिएका अंगहरूको डिएनए परीक्षण गरेर को को मारिए पहिचान गर्नु पर्ने हुन्थ्यो । सौभाग्यवश, ती कृतघ्न मानिस आज राजा रहेनन् ।
तर पुनः राजा हुनका लागि अनेकन् आधारहरू खडागरि, लुप्त षडयन्त्रहरूको सहारा लिइ गणतन्त्र फाल्ने उद्यममा लागेका छन् । जसको दुष्परिणाम स्वरूप हिजोको घटना भयो। तर, देखिएन यिनको नैतिकता ! मैले भन्न चाहेको यति हो–न त दुष्परिणाम पछि तेसलाई स्वीकार्ने सहास देखियो, न त आफुले आह्वान गरेको आन्दोलनलाई ठिक दिशामा पहिल्याउने हिम्मत नै देखियो, न त नैतिकता नै ! बस् यही हो सत्य !