
नेकपा एमालेले जनकपुरधामसहित देशव्यापी रुपमा राजावादीको हर्कतविरुद्ध मोटरसाइकल र्याली निकालेको छ । जनकपुरधाममा सोमबार उपमहानगरको परिक्रमा गर्दै एमाले धनुषाले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिनका लागि मोटरसाइकल जुलुस निकालेको छ ।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अगुवाइमा निकालिएको मोटरसाइकल जुलुसमा नेता तथा कार्यकर्ता सहभागी थिए । सो प्रदर्शनको क्रममा एमालेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री उमाशंकर अरगरिया, एमाले मधेश प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरलगायतकाहरुको पनि सहभागी थिए ।
सो प्रदर्शनमा उत्रेका एमाले सम्वद्ध नेता तथा कार्यकर्ताहरुले जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ, दास र रैती बन्न मञ्जुर छैन, जनताको बहुदलीय जनवाद जिन्दावादजस्ता नारा लगाएका थिए । एमालेले राजावादीहरूले तीनकुनैमा मच्चाएको हिंसा, हत्या र लुटपाटको पनि विरोध गर्दै संलग्नहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
कोणसभामा बोल्दै पूर्वमन्त्री उमाशंकर अडगरियाले गणतन्त्रको रक्षाका लागि आफूहरुले प्रैदर्शन गरेको बताए । उनले आगामी राजनीतिक परिदृश्यमा एमालेको उपस्थितिलाई अझ बलियो बनाउने दाबी गरे । उनले राजतन्त्रको पुनःस्थापनाको हल्लालाई खारेज गर्दै सरकारको पक्षमा स्पष्ट सन्देश दिने उद्देश्यले गरिएको बताए ।