२०८१ चैत्र २०, बुधबार ०७:३२

रौतहटको राजपुर नगरपालिका वडा नं. २ फतुहा महेशपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको राम जानकी मठको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि कम्पाउन्ड वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पर्यटन विकास कार्यालय गौरको पहिलो योजना अन्तर्गत उपभोक्ता समितिमार्फत २५ लाख रुपैयाँ लागतमा कम्पाउन्ड वाल, गेट, ग्रिल, फ्लोरिङ,जमिनमुनि छ मुख इँटा र पेन्टिङ जडानको काम भइरहेको छ । निर्माणाधीन कम्पाउन्ड वाल ८१.१० मिटर लम्बाइको हुनेछ जसले मठको सुरक्षा तथा सौन्दर्यीकरणमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

पर्यटन विकास कार्यालय गौर रौतहटको अधिकृत संजय कुमार मिश्रले यस निर्माण कार्यको अनुगमन गरेका छन् । निरीक्षणका क्रममा उनले निर्माण कार्यको गुणस्तर राम्रो रहेको प्रतिक्रिया दिएका छन् । मिश्रका अनुसार योजना स्थानीय धार्मिक स्थलहरूको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण रहेको छ ।

राम जानकी मठको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्न योजना अघि बढाइएको हो । पर्यटन विकास कार्यालय गौरको पहिलो योजना अन्तर्गत २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । कुल बजेटमध्ये १ लाख रुपैयाँ आकस्मिक (कन्टिन्जेन्सी) खर्चका लागि छुट्याइएको छ । ५ प्रतिशत रकम स्थानीय उपभोक्ता समितिबाट व्यवस्था गरिएको छ ।

निर्माण कार्य उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा गुणस्तर कायम राख्दै अगाडि बढिरहेको छ ।राम जानकी मठको संरक्षण र विकासमा भएको कामप्रति स्थानीय बासिन्दाहरू उत्साहित देखिएका छन् । उनीहरूले निर्माण कार्य गुणस्तरीय रूपमा अघि बढिरहेको बताउँदै यसले मठमा आउने दर्शनार्थी तथा पर्यटकहरूको संख्यामा वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, राजपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोनेलाल पडितले अनुगमनका क्रममा निर्माण कार्यको सराहना गरेका छन् । उनले निर्माणको गुणस्तर राम्रो रहेको र कुनै कमी नरहेको बताए । उनका अनुसार मठको संरक्षणले धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना मात्र होइन, स्थानीय समुदायलाई आर्थिक फाइदा पनि पुर्याउनेछ ।

राम जानकी मठ धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्थल भएकाले यसको संरक्षणले धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्ने विश्वास गरिएको छ । स्थानीयवासीहरूले मठमा आउने पर्यटकहरूका लागि उचित व्यवस्था मिलाइएमा यस क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुग्ने बताएका छन् ।पर्यटन विकास कार्यालय गौरका अनुसार भविष्यमा पनि यस्ता धार्मिक स्थलहरूको संरक्षणका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिने छ ।

साथै स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि थप परियोजनाहरू अघि बढाइने जनाइएको छ । योजना पूरा भएपछि राम जानकी मठको सुरक्षा बढ्ने मात्र होइन यसको आकर्षण पनि वृद्धि हुने र यसले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News