
मधेश प्रदेशसभामा देखिएको अवरोध हटाउनका लागि बसेको बैठक बिना निष्कर्ष सम्पन्न भएको छ ।
बोलाइएको सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्षी दल आफ्नो अडानमा कायम नै रहे पछि बिना निष्कर्ष सर्वदलीय बैठक सम्पन्न भएको छ । विपक्षी दलहरुले विभिन्न विषयमा छानबिन समिति गठन गर्ने माग गर्दै बैठक अवरुद्ध गरेको थियो । सो अवरोध हटाउन चैत १२ गते बोलाइएको सर्वदलीय बैठक निष्कर्ष नटुंगिए पछि सदन नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।
सो अवरोधलाई हटाएर पुनः प्रदेशसभा बैठक सूचारु गर्न सभामुख रामचन्द्र मण्डलले सबै दलहरुबीच बुधबार छलफलका लागि बोलाएको थियो । तर सो बैठक भने बिना निष्कर्ष सम्पन्न भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।
विपक्षी दलले चैत १० गतेको बैठकमा योजना खरिद बिक्री भइरहेको, मुख्यमन्त्री सतीशकुमार सिंहले कुटनीतिक मर्यादा विपरीत भारत भ्रमणमा गएको, सशर्त अनुदान लगायतको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेको थियो ।
संसदीय दलका नेता साहले सत्तापक्ष आफ्नो अडानमा रहेपछि छलफल बिना निष्कर्ष बैठक सकिएको बताए । उनले आफुहरुले छानबिन समिति गठन गर्नु पर्ने मागमा कायमै रहेको बताए । तर सत्तापक्षले प्रश्न उठेका सम्बन्धित मन्त्रीले पहिला सदनमा जवाफ दिनुपर्ने अडान कायमै रहेको बताए । नेता साहले छानबिन समिति नै गठन गनु पर्ने आफूहरुको अडानमा रहेको बताए ।