
जनता प्रगतिशिल पार्टीको प्रयासमा गठन हुन लागेको मधेश केन्द्रित दलहरूको मोर्चा अलपत्र परेको छ । मोर्चा घोषणाका लागि बिहीबार नयाँ बानेश्वरको थापागाउँ स्थित काठमाण्डु ब्यांकेटमा समाचार संकलनका लागि सञ्चारकर्मीहरुलाई दिउँसो ३ बजेका लागि निम्तो गरिएको छ । तर घोषणा सभामा जनमत पार्टी र जनता समाजवादी पार्टी(जसपा) सहभागी नहुने जनाएका छन् ।
मोर्चाको संयोजकमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको नाममा कार्यदलले सहमति कायम गरी बिहीबार घोषणाको कार्यक्रम राखेको थियो । तर जसपाका अध्यक्ष अशोक राई र जनमत पार्टीका अध्यक्ष डा.सी.के.राउतले असहमति जनाएका छन् ।
संसदमा ठूला दलका अध्यक्षले संयोजकत्वको भूमिका निर्वाह गर्नुपर्ने अथवा आलोपालो संयोजक गर्ने शर्त जसपा र जनमत पार्टीले राखेपछि घोषणाको कार्यक्रम अन्योलमा परेको छ ।
जसपाका उपमहामन्त्री समेत रहेका खानेपानी मन्त्री प्रदीप यादवले ठूला दलका नेताले पहिलो संयोजक हुनुपर्ने आफ्नो अडान रहेको बताए । ‘ठूला दलको क्रम मिलाएर संयोजक आलोपालो हुनुपर्छ’ उनले भने, सबैले मोर्चाको नेतृत्व गर्नेमा सहमति हुन आवश्यक छ । तर अहिले त्यस सम्बन्धमा सहमति भइनसकेको उनले बताए ।
मधेश केन्द्रित सात दल मोर्चा बनाउनेमा सहमत भएको हो । सबै दलबाट प्रतिनिधित्व रहेको कार्यदल गठन गरिएको छ । कार्यदलमा मोर्चा घोषणाको सहमति भइसकेको जनाइएको छ । जनमत पार्टीका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य डा. शरद यादवले बिहान ९ बजे दलका अध्यक्षहरुको बैठक बस्ने र त्यसपछि कार्यदलको बैठक बस्ने बताएका छन् । ‘मोर्चा सम्बन्धी विस्तृत जानकारी घोषणा सभाबाट दिइने छ’ उनले भने, मोर्चाको सबालमा कार्यदलले तयार गरेको कार्यविधिबारे अध्यक्षजीहरुले छलफल गरेपछि नै थप प्रक्रिया अगाडि बढ्ने छ ।
मोर्चा घोषणा सभामा सात दलको सहभागिता रहने अगुवाइ गरिरहेका जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले जनाएका छन् । घोषणा सभामा जसपाको सहभागिता नरहे पनि पछि उनीहरु पनि सहभागी हुने उनले दाबी गरे । मोर्चाको नेतृत्वमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अघि सारिएको छ ।
सात दलमा रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मोर्चाको घोषणा सभाप्रति स्पष्ट प्रतिक्रिया दिएको छैन । कार्यदलमा रहेका जसपा नेपालका प्रवक्ता मनिष सुमनले घोषणा सभाबारे अनभिज्ञता प्रकट गरे । उनले कार्यदलको पछिल्लो जानकारी आफूसित नरहेको बताए । मधेश केन्द्रित दलहरु मध्ये प्रतिनिधिसभामा जसपाको ७, जनमतको ६ र जसपा नेपालका ५ सांसद छन् । तर राष्ट्रिय सभामा जसपा नेपालका समेत ३ जना सांसद गरी ८ जना संघीय संसदमा रहेका छन् ।
जप्रपाका उपाध्यक्ष डा. शिवजी यादवले जसपालाई आमन्त्रण गरिएको तर शर्त राखेकाले सहभागी हुने अवस्था नरहेको प्रष्ट गरे । जसपाको विषयमा पछि छलफल हुने र त्यसलाई पनि मोर्चामा सहभागी गराउने उनले बताए । आठ दलमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपा छन् ।
वैशाख महिनामा जनमत र नागरिक उन्मुक्ति पार्टी एकिकरण हुने सम्भावना बलियो छ । दुबै दलका नेताहरुले त्यसलाई पुष्टि पनि गरेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरण भए संघीय संसदमा ठूलो दल बन्ने छ । तराई मधेश प्रदेशमा पनि सो पार्टीको सभासदहरुको संख्या बढ्ने छ । अहिले जसपा नेपाल प्रदेश र संघीय संसदमा ठूलो दल रहेको छ । प्रदेश सभामा पनि जसपा नेपालको हाल मधेशी दलहरु मध्ये सबै भन्दा बढी सिट रहेको छ ।
राष्ट्रिय मुद्दामा मधेश केन्द्रित दलहरूको साझा धारणा तय गर्न, पार्टी एकीकरण लगायत विषयमा संवाद गर्न ती दलहरुले कार्यदल बनाएका थिए । आठ दलको कार्यदलमा जसपाबाट महासचिव इस्तियाक राई, जनमतबाट डा. शरद यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट ब्रजेश सिंह छन् ।
आठ दलको संयुक्त कार्यदल गठन गर्नुअघि दलीय संवादका लागि प्रत्येक दलले कार्यदल बनाएका थिए ।