नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशवादको शासन जनातालाई अस्वीकार्य रहेको बताएका छन् ।
राजविराजमा बुधबार नेकपा एकीकृत समाजवादी सप्तरीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनताकै आन्दोलनले हटाएको राजतन्त्र मुलुकमा पुनस्र्थापना सम्भव नहुने बताए ।
पूर्वराजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्था अनुसार पार्टी खोलेर निर्वाचनमा भाग लिइ बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सक्ने बाटो खुल्ला रहेको सुझाए । उनले वंशवादको विगत तर्फ फर्किन सम्भव नरहेको जिकिरसमेत गरे । शाहवंशीय राजतन्त्रकै क्रममा मुलुकमा जहानियाँ राणाहरुले पनि शासन गरेको भन्दै अध्यक्ष नेपालले वंशवादको शासनको नाउँमा के फेरी जंगबहादुरलाई ल्याउने भन्दै प्रश्न पनि गरे ।
नेपालमा वंशका आधारमा निरंकुश शासन गर्ने प्रणाली सदाका लागि अन्त्य भएको बताउँदै उनले राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफू समेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै स्मरण नै रहेको बताए । आफू समेत पुर्वराजा ज्ञानेन्द्रबाट दुःख पाएको भन्दै उनले मोवाइल खोसी, सम्पर्क विहीन बनाइ घरमा नजरबन्द राखेको अनुभव सुनाए ।
उनले पछिल्लो समय काठमाण्डुमा भएको राजावादी आन्दोलनलाई अराजक गतिविधको संज्ञा दिँदै अराजक समूहले आफूहरुको पार्टी कार्यालयमा तोडफोडका साथै सम्पति लुटपाट गरेको आरोप लगाए ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष धर्मनाथ साह, प्रदेश सांसद एवं पुर्व मन्त्री गोविन्द न्यौपाने, मधेश प्रदेश अध्यक्ष एवं पोलिट व्युरो सदस्य रामचन्द्र यादव, प्रदेश सचिव एवं पोलिट व्युरो सदस्य सुधिर साह, महिला नेतृ एर्व पोलिट व्युरो सदस्य उषा पोखरेल, पार्टीका प्रचारप्रसार विभागका केन्द्रिय खतिवडा, नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झालगायतका थिए ।



