२०८१ चैत्र २२, शुक्रबार ०७:३३

अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्ने गर्छ । कतिपय बोटमा त फूल नै फुल्दैनन् । एक वर्षको अन्तरालमा भने प्रायः आँपको बोट फल्ने गर्छन् । तर यसवर्ष पुरानो आँपको बोटमा ‘अफइर’ भन्ने एक किसिमको रोग लागेको छ ।

पाँच र छ वर्षका आँपका रुख भने फुलेका छन् । धनुषाको नगराइन नगरपालिका– ५ स्थित गंगुलीकी अरुणा देवीले यसपटक पनि विगत जस्तै पुरानो बोटमा आँप नफलेको बताइन् । बगैँचाका पुराना रुखमा फूल नफुले पनि नयाँ बोटमा भने आँपको फूल फुलेको बताइन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत विभिन्न क्षेत्रमा आँप उत्पादनका उर्बर क्षेत्र मानिन्छन् ।

सबैतिर पुराना रुखमा अफइयरको असर देखिए पनि नयाँ रुखमा फूल फुलेको महोत्तरीको गौशाला नगरपालिकाकी सुनिता महतोले बताइन् । उनले भनिन्, ‘पुराना रुखमा त कमै फूल फुलेको छ, तर नयाँ रुखमा मज्जाले फुलेको छ ।’ यसवर्ष आँपलाई प्रतिकूल मौसम रहेको किसान बताउँछन् । पानी नपरी हिउँदयाम बित्नु सबैभन्दा ठूलो समस्या रहेको छ ।

गतवर्ष राम्रो फलेको आँप यसवर्ष कम फुलेको मौसम विद्को भनाइ छ । अफइयर सामान्यतया तेस्रो वर्षमा हुने उनको भनाइ छ । यसअघिका दुई वर्ष आँप निकै फलेका थिए । यसवर्ष पनि आँपका बोट मज्जाले फूल फुलेपछि सिरहाका किसान रामविनोद महतोलाई सन्तोष मिलेको छ । अब चैत र वैशाखको असिना र हुरीवतासमा जोगिए आँपबाट राम्रो कमाइ हुने उनले बताए ।

कम फुलेको आँपलाई यसवर्ष मधुवा (मज्जरमा लाग्ने डढुवा रोग) को प्रकोप छ । मधुवाको प्रकोप पानी नपरेर बढेको किसान बताउँछन्। जिल्लामा पाँच/छ वर्षयताका नयाँको तुलनामा पुराना रुख बढी हुँदा आँप कम उत्पादन हुने अनुमान गरिएको छ ।

जिल्लामा पछिल्लो एक दशकयता फुलफूल खेती बढ्दो छ । कृषि कार्यमा जनशक्ति पाउन छाडेपछि किसानले फलफूल खेती बढाएका छन् । १० वर्षअघि पाँच हजार हेक्टरभन्दा कम क्षेत्रफलमा भएको फलफूल खेती वृद्धि हुँदै हाल १० हजार हेक्टर नाघेको महोत्तरीका कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजकिशोर यादव बताए ।

Comment


Related News

Latest News

Trending News