
स्थानीय निकायमा बढ्दै गएको भ्रष्टाचार र अनियमितताको सहयोगी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बन्दै गएको आरोप छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको संसदीय क्षेत्रमा रहेको पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पुनः सरुवा भएको छ । प्र
मुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवको हाजिर भएको एक महिना नपुग्दै उनको फेरि पनि सरुवा भएको छ । पोखरिया नगरपालिकामा गत फागुन १५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवको चैत १७ गते मन्त्रालयले सरुवा गरेको हो । मेयर प्रदुमन चौहानसंगको टकरावका कारण श्रीवास्तवको एक महिना नपुग्दै सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मेयर चौहान आवद्ध दल एमालेकै हुन् ।
मेयर प्रद्युम्न चौहानले भने अनुसार विल भुक्तानी नगरेको कारण उनको सरुवा गराइएको नगरपालिकाका एक कर्मचारीले बताए । मेयर चौहान एमाले पार्टीबाट निर्वाचित मेयर हुन् । आफ्नै क्षेत्रको मेयरले काठमान्डौमा डेरानै जमाए पछि मन्त्रीले सरुवा गरेका हुन् । श्रीवास्तवको सरुवा पर्सा जिल्ला समन्वय समिति सरुवा गरिएको हो । श्रीवास्तवले भने, ‘चैत १७ गते सरुवाको पत्र आयो, चैत १९ गते रवानापत्र बुझे, अब बिहीबार जिल्ला समन्वय समिति पर्सामा हाजिर हुन्छ ।’
पर्सा जिल्लामा सबै भन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने पालिकामा पोखरिया नगरपालिका पहिलो नम्बरमा पर्छ । मन्त्री गुप्ताको चुनावी क्षेत्रको केन्द्रमा रहेको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पटक पटक सरुवा हुँदै आएको छ । यो नगरपालिकामा यसअघि पनि हालसम्म कोही प्रमुख प्रशासकीय अधिकृत धेरै समय टिक्न सकेका छैनन् ।
२०७९ साल फागुन ८ गते दरबन्दी भइ आएका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई ३९ दिनमै सरुवा गराइएको थियो । त्यस्तै २०८० साल जेठ २ गते देवेन्द्र सापकोटा हाजिर भएका थिए । उनलाई समेत उक्त पालिकामा जनप्रतिनिधिले टिक्न दिइएन । उनको पनि सरुवा ३ महिना नपुग्दै २०८० भदौँ ८ गते गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते देशभरका १३ वटा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकैपटक रद्द गर्ने निर्णय गरेपछि अजय श्रीवास्तव प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटेका थिए । फेरि उनै अजय श्रीवास्तवलाई प्रमुख प्रशासकीय अधिकृतमा फर्काउने मेयर चौहानले मन्त्रीसंग चाचोपाजो मिलाएको बताइन्छ ।
भ्रष्टाचारमा चुर्लुम्म डुबेको सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवाको दररेट नै ताकिएको भन्दै अलोचनाहरु हुदै आएको छ । मन्त्री सचिवालय देखि परिवारका सदस्यहरुले ८लाख देखि १० लाख रुपैया लिएर सरुवा गराएको भन्दै आरोप लग्ने गरेको छ ।
यता सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रशासकिय अधिकृत विनय श्रीवास्तवले आफैले सरूवा माग गरेकाले सरूवा गरिएको बताएका छन् ।
यस विषयमा मेयर चौहानसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेनन् । यता रौतहट जिल्लाका केही स्थानिय निकायमा प्रमुख प्रशासाकिय अधिकृतको सरुवामा व्यापक आर्थिक चहलखेल गरिएको भन्दै जनप्रतिनिधिहरुबाट व्यापक बिरोध भइरहेको छ ।