
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको शुक्रबार राति बसेको भर्चुअल बैठकले शनिबार हुन लागेको चितवनको सभा नरोक्ने निर्णय गरेको छ।
सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएपछि चितवनको सभाबारे अन्योल बढेको थियो। पक्राउ गर्न प्रहरी घरमै आइसकेपछि रविले सामाजिक सञ्जालमार्फत सभा नरोक्न भनेका थिए।
रवि पक्राउ परेपछि राति ११ बजे आकस्मिकरुपमा बसेको बैठक साढे १ बजेपछि सकिएको थियो। बैठकले सभा नरोक्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
यस्तै लामिछानेले कार्यवाहक सभापति डीपी अर्याललाई तोकेकामा बैठक अनुमोदन गरेको छ। अर्याल उपसभापति हुन्।
यसअघि पनि रविले आफ्नाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर हुनासाथ अर्याललाई कार्यवाहक सभापति तोकेका थिए।
कास्कीमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएका कारण रवि सांसद पदबाट निलम्बित छन्। सभापतिका रुपमा भने ५ दिनअघि मात्र पार्टीमा पुनः सक्रिय हुन थालेका थिए।
पुनः सक्रिय हुन थालेसँगै उनले आफूअनुकूल टिम बनाउन पार्टीमा व्यापक पुनःसंरचना गर्ने भनेका थिए।
शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले रविलाई सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै बूढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने यसअघि जिल्ला अदालत रुपन्देहीको आदेशले १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए।
उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
हजारौँ सहकारी पीडितको न्यायको विषय जोडिएकाले उनी मुछिएको अपराध धरौट वा जमानतमा छाड्न नमिल्ने प्रकृतिको रहेको उच्च अदालतको आदेशमा भनिएको छ।
‘सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम आएको घटनाको प्रकृति जति संवदेनशील छ, जिम्मेवार सञ्चालकको हैसियतमा रहेका प्रतिवादी (रवि) को भूमिका र बयान उति नै शंकास्पद र अनुचितसमेत छ,’ शुक्रबार जारी आदेशमा भनिएको छ, ‘थुना वा धरौटमध्ये कुनै एक विकल्पलाई अदालतले आफ्नो रोजाइमा प्रयोग गर्न सक्दैन। वास्तवमा थुना र धरौट निरपेक्ष रूपमा एकअर्काका विकल्प पनि होइनन्। थुनामा राख्नुपर्ने अवस्थाको अभियुक्त वा प्रतिवादीलाई अदालतले धरौट माग गर्न मिल्दैन र हुँदैन पनि।’