
रामनवमीको अवसरमा चैत २४ गते (आइतबार) सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विदा दिएको छ ।तर यहाँ जानकी नवमीको अवसरमा भने सररकारले कुनै पनि किसिमको सार्वजनिक विदा नदिने गरेका छन् ।
गृह मन्त्रालयले जनाए अनुसार मन्त्रिपरिषद् बैठकले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि सोही अनुरूप राजपत्रमा सूचना प्रकाशित गरेको छ । सरकारले हरेक वर्ष रामनवमीको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिइएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले आफूहरुले जानकी नवमीको अवसरमा देशव्यापी रुपमा विदाको माग पटक पटक गरे पनि सरकारले बेवास्ता गर्दै आएको बताए । उनले भने, ‘यहाँको सीता अर्थात जानकी रामकी धर्मपत्नी हुन् । जनकपुरधाम जानकीको माइती हो, तर सरकारले राम नवमीमा भने सार्वजनिक विदा दिने गरे पनि जानकी नवमीको अवसरमा विदा नदिनु दुःखद हो । हामीले अझै पनि सरकारसंग सार्वजनिक विदाको लागि आग्रह गर्दै आएका छौँ ।’
रामनवमी भगवान् श्रीरामको जन्मोत्सवको रूपमा हिन्दू समुदायले विशेष रूपमा मनाइँदै आएको छ । यस दिन जनकपुरधामस्थित राम मन्दिर, जानकी मन्दिरलगायत देशभरका राम मन्दिरहरूमा विशेष पूजाआजा, भजनकीर्तन र झाँकीहरू आयोजना गरिन्छ । भक्तजनहरूले विभिन्न धार्मिक स्थलहरूमा भेला भइ श्रीरामको आराधना गर्छन् ।
जनकपुरधामको जानकी मन्दिरलगायत देशभरका मुख्य मन्दिरहरूमा श्रद्धालुहरूको ठूलो घुइँचो लाग्ने गर्छ ।