२०८१ चैत्र २४, आईतवार ०५:२९

नेपाल क्रिकेट टिमका पूर्व सदस्य तथा नेपाल प्रिमियर लिग (एन पी एल) को पहिलो संस्करण प्रतियोगिताको विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साहलगायतका खेलाडीहरु गरुडा टिमको लागी खेल्ने भएका छन् ।

जिल्लाको गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (आरपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्टसका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमका लागि खेल्ने सहमती भएको छ । रौतहटको मध्यभाग गरुडा स्थित शनिबार भएको छलफलमा बोल्ट्सका कप्तान अनिल साह, रबि साह, तिर्थराज, भुलावन सहनी र अरनिको यादव तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध भएर खेल्ने सहमती भएको थियो । दुइ पक्षिय सहमती पछी गरुडा स्थित एक बिशेष कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई भव्य स्वागत गरिएको थियो ।

गरुडा टिमका मालिक जयसवाल ट्रेडिङ कनसर्नका प्रोप्राइटर शैलेश जयसवाल र ओम ब्रुअरी प्रालिका प्रोप्राइटर आकाश प्रकाश जयसवाल लगायतले खेलाडीहरु लाई फूलको माला र खादा ओढाएर सम्मान गरेका थिए । यस पटकको रौतहट प्रिमियर लिगको टाइटल स्पोन्सर ओम ब्रुअरी प्रा. लि. रहेको छ भने प्रतियोगितालाई पशुपति ट्रेड लिंक (श्याम जेनरल सप्लायर्स, गरुडाका प्रोप्राइटर राम बचन साह, सारस ब्रेब्बेज प्रा. लि. (रेडबुल), ओम इन्टरप्राइजेज, गरुडाका प्रोप्राइटर उमाशंकर जयसवाल, जान्वी मानवी कोल्ड स्टोर, गरुडाका प्रोप्राइटर अशोक चौधरी र नमस्ते डेण्टल क्लिनिक, गरुडाका डाक्टर रजनेश चौधरी प्रमुख प्रायोजकका रूपमा रहेका छन् ।

रौतहट प्रिमियर लिगको आयोजनाले स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय खेलाडीहरूका साथ खेल्ने अवसर दिलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाको १८ वटै पालिकाका क्रिकेट टिमहरू बीच प्रतिस्पर्धा हुने छ ।

Comment


Related News