२०८१ चैत्र २४, आईतवार ०५:३०

वन फडानी गरी खेतीयोग्य जमिन बनाउने कार्य तीव्र रुपमा मौलाउँदै गएको छ । रौतहटमा बहुमूल्य प्रजाती खयर जातका रुखहरु धमाधम मासिंदै गएका छन् ।

खेतीयोग्य जमिन बनाउन अवैध रूपमा खयरको रुख कटान गर्ने क्रम बढ्दै गएको भएपनि डिभिजन वन कार्यालय मौन बसेको छ । वृन्दावन सब डिभिजन वन कार्यालयको वन क्षेत्रमा खयरका रुख मासेर खेतीयोग्य जमिन बनाउने क्रम तीव्र रुपमा बढिरहेको स्थानीयले बताउदै आइरहेपनी जिम्मेवार निकाय मुकदर्शक बनेर बसेको आरोप रहेको छ ।

डिभिजन वन कार्यालयको उदासीनताका कारण बागमती नदीद्वारा वन अधिग्रहित भू– भागमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुली लगायत विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले हजारौँ हेक्टर बगर क्षेत्र अतिक्रमण गरेका छन् । स्थानीय श्याम पटेलले दिनभर १० भन्दा बढी ट्रयाक्टरहरु बगरमा सञ्चालन हुने गरेका बताए ।

उनले वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै कारबाही नभएको गुनासो गरे । उनले भने, ‘वन कर्मचारीकै मिलेमतोमा खयरको रुख मास्ने कार्य भइरहेको छ, बारम्बार कार्यालयलाई जानकारी गराउँदा समेत केही सुनुवाइ भएको छैन, पटेलले भने ।’ खेतीयोग्य जमिन बनाउन कटान गरिएको खयरको रुख समेत बगरबाटै गायब हुने गरेको छ ।

स्थानीय सुरेश पटेलका अनुसार बगर फँडानी गर्नेहरुले सुरुमा तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि खयरका रुखहरु फाँडेर खेतीयोग्य जमिन बनाउने गरेका छन् । प्रत्येक वर्ष १०० बिघाभन्दा बढी क्षेत्रफललाई खेतीयोग्य जमिन बनाइँदै आएको भएपनी डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तप्रसाद साह वन कर्मचारीको संलग्नता नरहेको बताउँछन् ।

वन कार्यालय एक्लैले बगर संरक्षण गर्न नसक्ने भन्दै स्थानीय तहको सहयोग आवश्यक रहेको प्रमुख साहले बताए ।

Comment


Related News