२०८१ चैत्र २४, आईतवार ०५:३०

मधेश केन्द्रित दलहरुले सात दलीय मोर्चा गठन गरी केही मधेशवादी दललाई बेवास्ता गरपछि उनीहरुले छुट्टै मोर्चा गठन गरेका छन् ।

शनिबार जनकपुरधाममा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमले मधेशको राजनीतिक भावनामा जमेर बसेको असन्तोषलाई विस्फोटको रुपमा उजागर भएको वक्ताहरुले जोड दिए ।

सो अन्तरक्रियामा विगत ३ दशकदेखि पटक–पटक आन्दोलनमा सहभागी भएर पनि अधिकारविहीन बनेका मधेशी जनताको तिक्त अनुभवको सामूहिक प्रस्तुति देखिएको थियो । सत्ताका दलालहरू, कथित मधेशवादीहरू, यथास्थितिवादीहरू र संविधानलाई कागज बनाउनेहरू सबैजना ती भाषणहरूमा कठघरामा रहेको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले बताए । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले भने, ‘संविधान, गणतन्त्र र संघीयता कुनै दान होइन, यो हामीले हाम्रो रगतबाट खरिद गरेका हौं ।’ पूर्वराजा ज्ञानेन्द्रप्रति कटाक्ष गर्दै उनले भने, ‘यो देशको संविधान मेट्न खोज्ने पूर्वराजाले जनताको बलिदानलाई उपहास गरिरहेका छन् । तर, जनताले जुन दिन उठ्ने निर्णय गर्छ, त्यो दिन उनीहरूको सपना होइन, अस्तित्व नै मेटिनेछ ।’ उनको भाषणमा केवल पूर्वराजा मात्र नभइ वर्तमान सत्ता प्रणालीप्रति पनि गहिरो असन्तुष्टि थियो । ‘२०४६ मा आन्दोलन गरेर जनताको नाममा राजा राख्ने कांग्रेस र कम्युनिस्टहरूको आज पनि मानसिकता उस्तै छ । तिनले संविधानको रक्षा होइन, कब्जा गर्ने काम गरेका छन्,’ उनले भने ।

नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुव प्रसाद निसादले २ सयभन्दा बढी शहीदको रगत के उपेन्द्र यादव मन्त्री बनुन् भनेर बगाइएको थियो भन्दै प्रश्न गरे । उनले मधेश आन्दोलनको इतिहासमै गम्भीर प्रश्न उठाए । ‘शहीदहरूको रगत सुक्न नपाउँदै सरकारमा जानु, मन्त्री बन्नु, अनि सत्तासँग घुलमेल हुनु — यसले मधेशी जनताको सपना झनै चकनाचुर बनाएको छ,’ उनले कटाक्ष गरे । निसादले अघि थप्दँै भने, ‘कथित मधेशवादीहरू सधैं सत्ताका सह–भोजी बने ।

मधेशको नाममा उनीहरूले आ– आफ्ना पेट भरे । तर, मधेश अझै रित्तै छ ।’ नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाहीको माग गरे । ‘संविधान विपरीत अभिव्यक्ति दिइरहेका पूर्वराजा ज्ञानेन्द्र अब कानुनी दायरामा आउनैपर्छ,’ उनले चेतावनी दिए । उनको आक्रोश सत्तारूढ दलहरूप्रति पनि उत्तिकै थियो । ‘उनीहरूले मधेशी जनतालाई केवल भोट बैंकको रूपमा हेरे । प्रतिनिधित्वको कुरा गर्दा बोर्डर मुनि जन्मिएका नागरिकलाई सधैं दोस्रो दर्जामा राखियो । यस्तो व्यवहार अब सह्य छैन,’ महतोले भने ।

सो कार्यक्रमको समापनमा आयोजक दलहरूले नयाँ राजनीतिक संरचना संघीय गणतान्त्रिक गठबन्धन घोषणा गर्ने निर्णय सुनाए । यस गठबन्धनको औपचारिक घोषणा बैशाख ४ गते पत्रकार सम्मेलन मार्फत गरिनेछ । जेठ १५ गते जनकपुरधाममा विशाल घोषणा सभा आयोजना गरिने बताइएको छ ।

नेताहरूले भने, ‘अब हाम्रो सहमतिविना न देश चल्न सक्छ, न मधेश । हामीलाई प्रतिनिधित्व छैन भने तपाईंहरूलाई वैधता छैन ।’ संघीय गणतान्त्रिक गठबन्धनले पहिलो चरणमा देशका १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ । अभियानको मूल नारा छ—‘भोट हमारा और राज तुम्हारा – अब चल्दैँन ।’ सो कार्यक्रममा पूर्वमन्त्री बिमला अन्सारीले भनिन्, ‘हामीलाई कुर्सी होइन, हाम्रो पहिचानको सम्मान चाहिएको हो । हामी शासन खोजिरहेका छैनौं, हामी अपमानको अन्त्य खोजिरहेका छौं ।’ उनले महिलाको प्रतिनिधित्व, दलित समुदायको सहभागिता र मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न मधेशमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताइन् ।

Comment


Related News

Latest News

Trending News