
धनुषालगायत मधेशमा आँखा पोल्ने समस्याले सर्वसाधारण प्रभावित भएका छन् ।
वायु प्रदूषणका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका विभिन्न स्थानमा आँखा पोल्ने समस्या देखिएको छ । हावाहुरी र गर्मीयामका कारणले गर्दा पैदल यात्रु गर्ने र वनजंगल क्षेत्रमा बसोबास गर्नेहरु सर्वसाधारणलाई पनि आँखा पोल्ने समस्याले हैरान भएका छन् । धनुषाको ढल्केवरका रामकुमार महतोले वन क्षेत्रमा भइरहेको डढेलोको धुँवा फैलिएर आँखा पोल्ने समस्या देखिएको बताए । उनले विगत तीन दिनदेखि यस्तो समस्या रहेको जानकारी दिए ।
आँखा पोल्ने समस्याका कारणले पनि अहिले जानकी आँखा अस्पताल जनकपुरधाममा आँखा चेकजाँच गराउनेको लर्को लाग्ने गरेको छ । यता डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले धनुषाको वन क्षेत्रमा डढेलो नलागेको बताए । उनले केही दिनअघि छिमेकी जिल्ला महोत्तरी र सर्लाहीका वन क्षेत्रमा लागेको डढेलोको असर यता देखिएको हुनसक्ने जानकारी दिए । चिकित्सक सञ्जय यादवले वायु प्रदूषणका कारण आँखा पोल्ने तथा श्वासप्रश्वासका बिरामी बढेको बताए ।
उनले बालबालिका र वृद्धवृद्धा यो समस्याबाट बढी ग्रसित देखिएको बताउनुहुँदै सर्वसाधारणलाई सतर्कता अपनाउन सुझाए । उनले आँखा पिरो हुने, पोल्ने समस्या कम गर्न पानीले नियमित आँखा सफा गर्नुपर्ने बताए । डढेलोका कारण सूक्ष्मकण र विषालु ग्यास उत्सर्जन हुने भएकाले यसबाट बच्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र अनिवार्य मास्क र चस्माको प्रयोग गर्न चिकित्सक यादवको भनाइ छ ।