२०८१ चैत्र २४, आईतवार १४:२३
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ ।
बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालयमा क्षति पुर्याएको जनाइएको छ ।
आगलागीका कारण कार्यालयमा सञ्चित पाइपसहित विभिन्न सामग्री जलेर नष्ट भएका छन् ।
मिथिला नगरपालिका–१० का वडाध्यक्ष सविनविक्रम थापाका अनुसार खानेपानी विस्तारका लागि भण्डारण गरिएको सबै पाइप पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
घटनापछि सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
लालगढ प्रहरी चौकीका अनुसार आगलागीको कारण र क्षतिको यथार्थ मूल्याङ्कनका लागि थप अनुसन्धान भइरहेको छ ।


