
तराई–मधेश केन्द्रित नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका शीर्ष नेताहरूको आइतबार सम्पन्न बैठकले पार्टी एकीकरणको विषयलाई सैद्धान्तिक रुपमा टुंग्याएको छ ।
बर्दियाको राजापुरमा दुई दिनसम्म चलेको बैठकले पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ । नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको उपस्थितिमा सम्पन्न बैठकले वैशाखको दोस्रो हप्तामा एकीकरणको घोषणा गर्ने सहमति गरेको छ । नाउपाका संरक्षक चौधरीले दुई पार्टी बीचको एकता अन्तिम चरणमा पुगेको जनाएका छन् ।
‘हामीले बैठकमा पार्टी एकताका लागि सैद्धान्तिक रूपमा धेरै विषय टुंग्याएका छौँ ’ संरक्षक चौधरीले भने, अब चाँडै एकता हुन्छ ।’ दुई दलबीच एकताका लागि केही समयदेखि छलफल चलिरहेको बताउँदै चौधरीले भने, दुई दिन चलेको दुई पार्टीको कार्यदलसहित शीर्ष नेताको बैठकले पार्टीको नाम र चुनाव चिन्हमा सहमति गरेको छ । पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको चौधरीले बताए । केन्द्रीय समितिमा दुवै दलबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने सहमति बनेको छ ।
शीर्ष नेताहरु बैठकबाट बाहिरिए पनि कार्यदलको बैठकले अन्य दलहरुको विषयमा सहमति जुटाउन लागेको छ । वैशाख ५ र ६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकले सहमतिलाई औपचारिक रूपमा टुङ्गाउने र वैशाखको दोस्रो हप्तामा एकताको घोषणा गर्ने तयारी रहेको छ । नाउपाले गङ्गाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल बनाएको छ ।
जनमत पार्टीको कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य छन् । कार्यदलका सदस्य बालगोविन्द चौधरीले मोटामोटी रूपमा टुंग्याएका विषयउपर कार्यदलको बैठकमा छलफल हुने बताएका छन् । उनले दुई दलबिच पार्टी नेतृत्वको विषयमा छलफल भइरहेको र सहमति हुन बाँकी रहेको जनाए । एकिकृत पार्टी नागरिक जनमतको दुई जना अध्यक्ष रहनेमा छलफल भइरहेको छ । संरक्षकमा चौधरीलाई राख्ने विषयमा सहमति जुटिसकेको बताइएको छ । ‘दुवै दलबाट अध्यक्ष राख्ने विषयमा छलफल भएको छ ’ उनले भने, तर अझै टुंगिएको छैन ।
संसदीय दलको नेता, प्रदेश, जिल्ला पदाधिकारी बाँडफाट लगायतका विषयमा पनि गहन रूपमा छलफल गर्ने नाउपा केन्द्रीय सदस्य राजकुमार चौधरीले बताए । ‘अध्यक्षहरूले सैद्धान्तिक रूपमा धेरै विषय टुंग्याउनुभएको छ’ उनले भने, कार्यदलले बाँकी रहेका विषयहरू टुङ्ग्याउने गरी छलफल गर्ने छ ।’ पार्टी एकताका लागि केही दिन अगाडि केन्द्रीय समितिको बैठकबाट दुवै दलले कार्यदल गठन गरेका थिए ।
सोही कार्यदलले बनाएको खाका एवम् विधान मस्यौदालाई नाउपाका संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष राउतले छलफल गरेर टुङ्गो लगाएका छन् । केही समयदेखि एकीकरणका लागि विभिन्न चरणमा छलफल भइरहेको थियो । नाउपा संगठनात्मक रुपमा जनमत पार्टी भन्दा ठूलो छ । नाउपाबाट प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसद जनमतको भन्दा बढी छ ।
त्यसैकारण पार्टीको नाममा नागरिक पहिले र चुनाव चिन्ह नाउपाकै राखिएको बताइएको छ । पछिल्लो पटक तराई–मधेश केन्द्रित दलहरुले बनाएको लोकतान्त्रिक मोर्चामा नाउपा र जनमत पार्टी सहभागी भएका छन् । नाउपा र जनमत पार्टी एकिकरण भएसँगै मधेशमा सबै भन्दा ठूलो दल हुनेछ । संघीय र प्रदेशमा सांसदहरुको संख्या बढेपछि सबै भन्दा ठूलो बन्नेछ । जनमत पार्टीमा अध्यक्षले केही पदाधिकारीहरुलाई निलम्बन गरेर विवादमा तानिएका छन् ।
नाउपामा पनि विभाजन सम्मको विवाद संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच भएको थियो ।चौधरी र श्रेष्ठ पतिपत्नी हुन् । जनमत पार्टीका संस्थापक रहेका कयौं प्रभावशाली नेताहरु ओझेलमा परेका छन् । पार्टीमा अध्यक्ष राउतको एकल निर्णय चलिरहेको बताइन्छ । सांसद खान उनका सर्वाधिक विश्वासपात्र बनेको बताइन्छ । यस पार्टीको संरक्षकमा रेशम चौधरी, कार्यकारी अध्यक्षमा सीके राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने गरी सहमति भएको स्रोतको दाबी छ ।