गैरकानुनी रुपमा पोल्याण्ड गइरहेका दुई जना नेपाली नागरिकलाई युक्रेनको सीमा सुरक्षा गार्डले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीका जयप्रकाश शाह र बाग्लुङका सन्देश केसी रहेका छन् । भारतीय दलाल मार्फत् पोल्याण्ड प्रवेश गर्नका लागि उनीहरू युद्धग्रस्त मुलुक युक्रेन पुगेका थिए । युक्रेन मामिला हेर्ने जर्मनस्थित नेपाली दूतावासले शाह र केसी पक्राउ भएको पुष्टि गरेको छ । ‘उनीहरू एकहप्ता अगाडि पक्राउ परेका हुन् । उनीहरूलाई थप छानबिनका लागि हिरासतमा राखिएको छ,’ दूतावासका उपप्रमुख सागर फुयाँलले भने,‘उनीहरूलाई जतिसक्दो छिटो नेपाल पठाउनको लागि दूतावासले युक्रेन सरकारसंग आवश्यक पहल गर्नेछ ।’ शाह र केसीलाई तत्काल नेपाल पठाउन कठिनाइ हुने फुयालले बताए ।
यसअघि युक्रेनमा पक्राउ परेका शेर स्याङ् वो र फुर्वा शेर्पालाई नेपाल पठाउन १० महिना लागेको थियो । उनीहरू पनि भारतीय एजुकेशन कन्सल्टेन्सी मार्फत ७/७ लाख रुपैयाँ बुझाएर युक्रेन पुगेका थिए ।


