२०८१ चैत्र २६, मंगलवार ०६:५८

सत्तारुढ दल जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसंग एकताका लागि गृहकार्यमा व्यस्त रहँदा अध्यक्ष सीके राउतले पार्टी विभाजनको भय सामाजिक सञ्जालको माध्यमबाट पोखेका छन् । अध्यक्ष राउतले सोमबार सचिवालयको पेजमार्फत् पार्टी विभाजनको भय सार्वजनिक गरेका छन् ।

‘मीठो बोलेर तपाईंलाई फकाउने पार्टी फोडुवा गद्दारहरूबाट सावधान !,’ अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी एकता गर्दै तराई– मधेशको शान बनौँ ।’ थरूहट मधेशमा ऐतिहासिक एकता हुनै लागेकाले जनताहरू चारैतिर हर्षित भएका बेला एकीकरण प्रक्रिया चल्दादेखि नै केही षड्यन्त्रकारी र विरोधी पार्टीहरूले जनमतका पदाधिकारीलाई पार्टी फोड्नका लागि गाडी र पैसा लगानी गरेर परिचालित गरेको राउतको आरोप छ ।

पार्टीभित्रका केही मानिसहरू दशैं तिहारदेखि नै पार्टी फुटाउन सक्रिय भइरहेकोसमेत उनले दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा आक्रोश पोख्नु अघि निलम्बनमा परेका जनमतका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले आफूलाई पार्टी अध्यक्ष सीके राउतले धम्की दिएको आरोप लगाएका छन् ।

वि.सं. ०८१ असोज ७ गते सोमबार करिब १२ बजेर ३८ मिनेटको समयमा फोन गरेर ‘साहहरूले पार्टी कब्जा गर्न खोजेका छन्, तिमीलाई बर्बाद गरिदिन्छु’ भनेर अध्यक्ष राउतले धम्क्याएको साहले सार्वजनिक गरेका छन् । त्यसपछि राउतले पनि घुमाउरो पारामा पार्टी विभाजन गर्न लागेको सामाजिक सञ्जालको माध्यमबाट गद्दार भनेर कडा आलोचना गरे ।

अध्यक्ष राउतको सो धम्कीबारे आफूले पार्टीको स्थायी समितिका सदस्यहरूलाई समेत जानकारी गराएको साहले बताएका छन् । उनले भने, ‘पछि महेश यादव र नरेन्द्र चौधरीसँग २÷३ पटक छलफल गरेर अन्तमा राउतसँगै बसी अब यस्ता कुराकानी नगर्ने अमूर्त सहमति भएको थियो ।’ साहले अध्यक्ष राउतको त्यो धम्की कार्यान्वयन भएको जिकिर गरे । उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । साहले सो कारबाहीलाई अध्यक्ष राउतको सो धम्कीको कार्यान्वयनका रूपमा अथ्र्याएका छन् । ‘त्यो धम्की कार्यान्वयनमा आएको छ ’ उनले भने, गैरराजनीतिक पोस्टहरूमार्फत मलाई गद्दार घोषित गरिएको छ । यस्ता कार्यहरू मेरो राजनीतिक छवि समाप्त पार्ने, मानसिक तनाव दिने र चरित्र हत्या गर्ने प्रयास मात्र हुन्,’ उनले भनेका छन् ।

साहले आफूविरुद्धका यस्ता प्रचार बन्द गर्नुपर्ने बताउँदै आएका छन् । यदि बन्द नभए आफू आत्महत्या दुरुत्साहन मान्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन् । उनले पार्टीलाई आफूमाथिको कारबाही फिर्ताका लागि समेत आग्रह गरेका छन् । गत चैत १९ गते पार्टीको अनुशासन समितिलाई पत्र लेख्दै कारबाही फिर्ताका लागि उनले आग्रह गरेका थिए ।

पार्टीले आरोप मात्रै लगाएको उल्लेख गर्दै उनले अध्यक्ष राउतलाई सन्तानको टाउकोमा हात राखेर कसम खान चुनौतीसमेत दिएका छन् । उनले भने, ‘कानुनी मान्यता नभए पनि सत्यताको प्रमाणका लागि यदि आरोप लगाउनेले आफ्नो अभिभावक वा सन्तानको टाउकोमा हात राखी सपथ खाए म सम्पूर्ण आरोप स्वीकार गर्न र कारबाही भोग्न तयार छु,’ उनले पत्रमा उल्लेख गरेका छन् ।

पार्टीले गत फागुन २१ गते साह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो । उनीहरूले समयसीमा भित्रै स्पष्टीकरण बुझाएका थिए । यता अध्यक्ष राउतले पार्टी फुटाउन लागिपरेका शक्ति जिल्ला जिल्ला गएर भेटघाट गरिरहेको बताएका छन् । उनले यसअघि समानुपातिक सांसदहरूलाई फिर्ता बोलाउने निर्णय लिए पनि कार्यान्वयन भने गरेनन् ।

मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री नबनाइ उनले सतीशकुमार सिंहलाई बनाएका थिए । साहले जनमत पार्टी फुटाउनका लागि विभिन्न शक्ति केन्द्रहरूसँग राष्ट्रिय अध्यक्षको विरूद्धमा कुरा लगाएको, भड्काएको र जिल्ला जिल्लामा तथा देशविदेशमा कार्यकर्तालाई फोन गरी पार्टी फोड्नका लागि सहयोग मागेको राउतले आरोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News