भारत सरकारको केन्द्रीय सडक एवं परिवहन राजमार्ग मन्त्रालयले अयोध्या र सीतामढी जोड्ने राजमार्ग निर्माणको सिमांकन (एलाइनमेन्ट) लाई स्वीकृत गरेको छ । केन्द्रीय सडक एवं परिवहन राजमार्ग मन्त्रालयको एलाइनमेन्ट अप्रुभल समितिले स्वीकृत गरेको छ । मन्त्रालयको सचिव वी उमाशंकरको अध्यक्षतामा बसेको सो बैठकले एलाइनमेन्टलाई स्वीकृत गरेको छ ।
बैठकमा पथ निर्माण विभागका अपर मुख्यसचिव मिहिर कुमार सिंहकोपनि सहभागिता रहेको थियो । उत्तरप्रदेश र बिहारको सीमामा पर्ने मेहरौना घाटबाट बिहारको सीतामढी हुँदै भिठ्ठामोड सम्म २ सय ४० किलोमिटर मिटर लामो ४ लेनको सडक निर्माण गर्ने योजनाको भारत सरकारले पहिले नै स्वीकृत गरिसकेको छ ।
रामजानकी पथ नामाकरण गरिएको ४ लेन सडकको मेहरौनादेखि सीवान सम्मको ४० किलोमिटर सडकको टेण्डर भइसकेको छ । त्यसको लागत भारतीय रुपैयाँ १ हजार २ सय ५४ करोड रहेको छ । सीवानदेखि मशरखको टेण्डर पनि भइसकेको छ । ५२ किलोमिटर लामो सो सडक खण्डको लागत १ हजार ३ सय ५१ करोड भारतीय रुपैयाँ रहेको छ ।
मशरखदेखि चकिया सम्मको ४८ किलोमिटर लामो सडक खण्डको लागत १ हजार ४ सय ५० करोड भारतीय रुपैयाँ रहेको छ । चकियादेखि शिवहर–सीतामढी– भिठ्ठामोड सडक खण्ड १ सय ३ किलोमिटर लामो रहेको छ । त्यसको निर्माणमा २ हजार १ सय करोडको लागत रहेको केन्द्रीय सडक एवं परिवहन राजमार्ग मन्त्रालयले जनाएको छ ।
सीतामाताको जन्मस्थल भारतको सीतामढीको पुनौराधाममा रहेको भारतीय दाबी छ । भारत सरकारले पुनौराधामको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा ६ सय करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । सीतामढीदेखि सोझै दिल्ली सम्मको सुपर एक्सप्रेस रेल सेवा सञ्चालन गर्ने तयारी शुरु भइसकेको छ ।
भारत सरकारले एलाइनमेन्ट स्वीकृत गरिसकेको राजमार्गको जग्गा अधिग्रहण र मुआब्जा बितरणको कार्य सहज भएको बिहार सरकारका सचिव अमृत लाल मिणाले जनाएका छन् । विपक्षी दलहरुले बिहारको चुनावलाई प्रभावित गर्न सरकारले यस्ता योजनाहरुको घोषणा गरेको आरोप लगाएपनि भारत सरकारको रामायण सर्किट अन्तरगतको राजमार्ग भएकोले प्राथमिकतामा रहेको अधिकारीहरुले बताएका छन् ।
पुनौराधामको विकास भएसँगै जनकपुरधामको पनि विकास गर्न सके पर्यटनको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । अयोध्या पुग्ने तिर्थयात्रीहरुलाई जनकपुरधाम सम्म ल्याउन सक्ने योजनाहरु नेपाल सरकारले बनाउन आवश्यक छ । भारतको भिठ्ठामोड बोर्डर जोडने जनकपुरधाम मलिवाराभिठ्ठामोड)सडकलाई ४ लेनको बनाउन आवश्यक छ ।
वर्षौदेखि जनकपुरधाम – भिठ्ठामोड सडकको अवस्था जीर्ण छ । २ लेन सडक तयार नहुँदै ४ लेनको काम सुरु भएको छ । तर अझै कतिवर्ष लाग्ने निश्चित छैन् ।नेपाल सरकारले सडकलाई समयमै निर्माण गर्न नसके भारतीय पर्यटकहरुको आवागमन निकै कमी आउन सक्ने होटेल व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारीले जनाएका छन् ।
जानकी मन्दिरको संरक्षण, सम्वद्र्धन र जनकपुरधाम– भिठ्ठामोड सडकको निर्माणमा सरकारले ध्यान नदिए भारतीय पर्यटकहरु सीतामढीबाट नै फर्किने अवस्था आउने पर्यटन व्यवसायीहरु बताउँछन् ।


