पाँच वर्षीय छोराको उपचारका लागि साथमा साथमा पैसा नहुँदा यतिबेला सप्तरीका सुरुङ्गा नगरपालिका–१ स्थित चहका गोरैयाका ललित सदा रकम जुटाउन भौँतारिदै छिन् । धरानस्थित वीपी प्रतिष्ठानमा पाँच वर्षीय छोरा विशाल सदाको उपचार गराइरहेका हुन्थे। तर उपचार गर्ने पैसा नहुँदा उनी बिरामी छोरालाई घरमा राखेर पैसा जुटाउन यता उता भौतारिरहेकी छन् ।
उनको छोरो विशाल लामो समयदेखि पेट फुल्ने र खुट्टा सुन्निने समस्याले ग्रस्त छ। गाउँमा नजिकका स्वास्थ्यले उपचार गर्न ठूलो अस्पताल लैजान भनेपछि उनले छोरालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए । तर त्यहाँ पनि विशालको उपचार हुन सकेन । अस्पतालले विशाललाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान रिफर गरेको छ । तर ललितले छोरालाई अस्पताल लैजान सकेका छैनन् । जन्मिएको एक वर्षसम्म विशाल स्वस्थ थिए ।
तर एक वर्ष कटेपछि विस्तारै उनको पेट फुल्ने समस्या देखिएको थियो । एक जनाको मजदुरीको भरमा पाँच जनाको परिवार पालिरहेका ललितले त्यसबेला छोराको उपचार गराइहाल्न सकेनन् । गत असारमा उनले छोरालाई उपचार गर्न छिमेकी जिल्ला सिराहको लहान लगेका थिए । केही महिना डाक्टरले भनेअनुसारको औषधी खुवाउँदा पनि विशाललाई निको भएन। चैतको पहिलो साता विशाल धेरै बिरामी परेपछि उनी फेरि लहान नै गए ।
त्यहाँका डाक्टरले पनि उनलाई उपचार गर्न अन्तै लैजाने सिफारिस गरे । तर पैसा नभएपछि उनी छोरा बोकेर घरै फर्किन् । करिब १० दिन सबैतिर गुहारेर उनले ६ हजार रुपैयाँ जम्मा गरे । गत आइतबार गजेन्द्रनारायण सिंह अस्पताल पुगे । दुई दिनको उपचारपछि उनलाई चिकित्सकहरुले धरान लैजान रिफर गरे । घरमा ३ वर्षका छोरा र १४ महिनाकी छोरी सहित पत्नी छोडेर आएका ललित पछिल्लो एक सातायता शम्भुनाथ नगरपालिका–३ कचन्दाहास्थित ससुरालीमा बसेर छोराको उपचारका लागि पैसाको जोहो गर्न भौतारिरहेका छन् ।
आइतबारसम्म उनले पैसाको जोहो गर्न सकेका छैनन् । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहले पीआइसियू (बाल चिकित्सा सघन हेरचाह एकाई) नहुँदा विशाललाई रेफर गरिएको बताए । विशालकी आमा ललितादेवी पनि छोराको बिग्रँदो स्वास्थ्यस्थितिका कारण चिन्तित छन् । ‘छोराले उपचार नपाएको चिन्ताले रातभरि निन्द्रा लाग्दैन, स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ,’ उनले भनिन्, ‘गरिब र दलितलाई कसैले पनि ऋण दिइरहेको छैन, मेरो छोरालाई बचाइदिन सबैमा आग्रह गर्छु ।’


