सात महिना अघि दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिने फैसला गरेको छ । सप्तरीको तिर हुत गाउँपालिकाकी उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसमेत ११ प्रतिवादी रहेकोमा सबैलाई सफाइ दिइएको छ ।
विशेषमा गत २३ भदौमा मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नं. ५ मा पर्यटन गेट निर्माणमा ११ लाख १९ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भनी मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइ दिने फैसला गरेको छ ।
आर्थिक वर्ष ०७५/०७६ मा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र इञ्जिनियर खुर्सेद इकरामले मिलेमतोमा गेट निर्माणमा अनियमितता गरेको अभियोग लगाइएको थियो । निर्माण अधुरै छाडेको, रंगरोगन र संवद्र्धनका लागि पनि सम्झौता पत्रमा उल्लेख गरी कम कामको पूरा भुक्तानी दिएकोजस्ता आरोप उनीहरुमाथि थियो ।
यस मुद्दामा गाउँपालिकाका लेखा प्रमुख सोनु कुमार सोनी, पालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक तिर्थमाया खत्वे, समिति सदस्यहरु दुर्गानन्द यादव, वीरेन्द्र कुमार यादव, भोगानन्द महत्मान यादव र रामानन्द चौधरीको पनि संलग्नता रहेको दाबीसहित मुद्दा चलाइएको थियो । उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुले पनि सफाइ पाएका छन् ।


