२०८१ चैत्र २६, मंगलवार ०७:४१

सर्लाहीको लालबन्दी नगरपालिका–३ स्थित जब्दी र ईश्वरपुर नगपालिका–८ स्थित रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जोखिमपूर्ण बनेको छ । पुलको दुवैतर्फको भागमा ठुल्ठुला खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् ।

पुललाई जोड्ने सडकको गिट्टी र माटो बगेर ठुलो खाल्डो परेका कारण सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको लालबन्दी नगरपालिका–३, का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए । पुलको दुवैतर्फ गएको वर्षायाममै गिट्टी र माटो बगाएर ठुलो खाल्डो परेको थियो । रामपुरतर्फको भागमा पुल छेउमै सडकमा पुनः ठुलो भ्वाङ पर्दा सोही भ्वाङमा साइकल, मोटरसाइकलजस्ता स–साना सवारी पर्ने जोखिम बढेको भन्दै स्थानीयवासी चिन्तित छन् ।



ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापाले फूलजोर पुलको अवस्था डरलाग्दो बनेपछि आफूहरू एक साताअघि मात्रै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर डेलिगेसन गएर फर्किएको बताए । निर्माण व्यवसायीले तत्कालै पुलको दुवै भागमा माटो भर्ने र रामपुरतर्फको भागमा परेको भ्वाङ समेत टाल्ने प्रतिवद्धता जनाएका लालबन्दी ३ का वडाध्यक्ष चौधरीले बताए । फूलजोर खोलामा १७० मिटर लामो पक्की पुल निर्माण भएको लामो समय भइसके पनि हस्तान्तरण भने हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय चद्रनिगाहपुरका प्रमुख एवं सिनियर डिभिजनल इञ्जिनियर अरुणकुमारलाल कर्णले फूलजोर खोलाको पुलमा हरेक वर्ष खाल्डो र भ्वाङ पर्ने समस्या आइरहेको बताए । पुलको दुवैतर्फको भागमा माटो भरेर कालोपत्रे गर्ने पुरानै ठेक्का भएपनि विविध कारणले काम गर्न नसकिएको उहाँले स्वीकार गरे ।

पुलको दुवै भागको सडकलाई पुल बराबर उठाएर कालोपत्रे गरेपछि अहिलेको समस्या समाधान हुने सडक कार्यालयका प्रमुख कर्णले बताए । संघीय सरकारले निर्माण गरेका यस्ता पुलको मर्मतसम्भारमा प्रदेश र स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनको भनाइ छ ।

Comment


Related News