
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताए छन् ।
मंगलबार जनकपुरधामस्थित मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन छिट्टै उपयुक्त समयमा हुने बताए । संविधान संशोधनकालागि गृहकार्य गर्छौँ, गरिपनि रहेका छौँ, प्रधानमन्त्री ओलीले भने ‘संविधान संशोधन प्रकृयालाई अगाडी बढाउन समिति नै बनाउँछौँ ।’
प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालकालागि गणतन्त्र नै वर्तमान रहेको समेत बताए । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै संसारको उत्कृष्ट व्यवस्था रहेको बताउँदै प्रधानमन्त्री ओलीले यो व्यवस्थालाई कसैले चाहेर पनि हटाउन नसक्ने बताए । उनले भने ‘राजतन्त्र सामन्ती व्यवस्था हो, नागरिक सर्वोच्चता हटाएर वंशानुगत सर्वोच्चता खोज्नु जहानिया सोच हो, ये अहिलेको समयमा सचेत नागरिक वा सचेत राजनीतिक दल कदापी स्वीकार्न सक्दैन ।’
उनले सम्बोधनमा लोकतन्त्रलाई केवल शब्दमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताए । “यदि भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने प्रणालीमै संकट आउन सक्छ,“ भन्दै उनले सुशासन र पारदर्शिताको आवश्यकतालाई जोड दिए । गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्दै प्रधानमन्त्रीले भने, “जनताको जीवनस्तर नउकासिए लोकतन्त्रको मूल्य गुम्नेछ ।“ उनले शिक्षा र स्वास्थ्यलाई नाफाको स्रोत नभइ सेवाको माध्यम बनाउन आग्रह गर्दै, “आफ्ना मान्छे भर्ना गर्ने थलो नभएर गुणको आधारमा छनोट हुनुपर्छ,“ स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मधेशलाई मुलुकको खाद्य भण्डार बनाउने अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिए । उनले गण्डकी तथा सुनकोशी–मरिण डाइभर्सन योजनाबाट मधेशमा सिंचाइ सुविधा पु¥याउन सकिने सम्भावना औँल्याए ।
उनले मधेशमा आँप, माछा उत्पादन, जैविक मल निर्माण, र ग्यासको उत्पादन जस्ता सम्भावनाहरूको उपयोग गर्न नयाँ प्रविधि र योजनाका साथ अघि बढ्नुपर्ने बताए ।
रेलमार्गबारे आलोचना खेपेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनकपुरधाममा रेल चलाएर आलोचकलाई जवाफ दिएको दाबी गरे । “हास्यास्पद भनेका थिए, तर रेल चढेर हेर्न आउनुपर्ने अवस्था बनेको छ,” उनले प्रष्ट पारे ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले बोक्सी, दहेज, बालविवाह, जातीय विभेदजस्ता सामाजिक कुरीतिहरूको अन्त्यका लागि व्यापक जनचेतनाको आवश्यकता औँल्याए । उनले भने, “कानुन छ, तर कार्यान्वयन गर्नुपर्छ, तबमात्र प्रभाव देखिन्छ ।”
प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै व्यावसायिक तालिमको प्रभावकारी कार्यान्वयन र कृषिमा आधारित आम्दानीमूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । “एक दिनको गोष्ठी होइन, किसानले प्रयोगमा ल्याउन सक्ने तालिम आवश्यक छ,” उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले गणतन्त्र र संविधानको आलोचना गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै ‘जहानियाँ शासनको पुनरागमन कुनै हालतमा स्वीकार्य छैन’ भने । “संविधान संशोधन छलफल र प्रक्रियाबाट मात्रै सम्भव छ,” उनले स्पष्ट पारे ।
भारत र चीनसँग सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले छिमेकी राष्ट्रसँग विश्वास र समझदारीमा आधारित सम्बन्ध निरन्तरता पाउने बताए । “सानातिना विषय उठाइन्छ, तर सम्बन्ध बिग्रिएको छैन,“ उनले भने ।
उनले जनकपुरधाम र मिथिलालाई धार्मिक, सांस्कृतिक र बौद्धिक थलोको रूपमा वर्णन गर्दै त्यसको संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताए ।