२०८१ चैत्र २७, बुधबार ०७:१९

मधेश प्रदेश संसदीय दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्दै प्रदेशलाई अधिकार प्रदान गर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा मंगलबार मधेश प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधनपछि प्रदेशसभा सदस्यहरुले भेटघाट गरेका छन् । भेटघाटमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले संघीयता कार्यान्वयनका लागि प्रदेशलाई अधिकार प्रदान गर्ने विषयमा छलफल भएको बताए । उनले प्रदेशलाई दिइएको एकल अधिकार कार्यान्वयनमा देखिएको जटिलता, प्रदेश प्रहरी ऐन कार्यान्वन र संघ–प्रदेशबीच देखिएको विमतिका बारेमा छलफल हुँदा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिए ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले फरक धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले दिएको आश्वासन कार्यान्वयनप्रति आशंका व्यक्त गरे । पूर्वसभामुखसमेत रहेका यादवले भने, ‘उहाँसँग प्रदेशको अधिकारको विषयमा यसअघि पनि कुरा भएकै हो । म सभामुख हुँदा पनि उहाँ सम्बोधन गरेर मधेशको अधिकार प्रदान गर्ने वाचा गर्नु भएको थियो,’ उनले भने,‘अहिले पनि त ती समस्या यथावतै छ ।’ प्रदेश प्रहरी ऐनको विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएकोमा उनले असन्तुष्टि पोखे ।

Comment


Related News

Latest News

Trending News