२०८१ चैत्र २८, बिहीबार ०७:३६

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवसहितको भ्रष्टाचार र योजना बिक्री गरेको छानबिन गर्न प्रदेश सभामुख रामचन्द्र मण्डलले संसदीय छानबिन समिति गठन गर्न निर्देशन दिएका छन् ।

प्रदेश सभामा भएको सर्वदलीय सहमति अनुसार सभामुख मण्डलले बुधबारको बैठकपछि छानबिन समिति गठन गर्न सचिवालयलाई निर्देशन दिएका छन् । प्रदेश सभा सचिवालयले प्रदेश सभामा रहेका दलहरुको एक–एकजना प्रतिनिधि रहने गरी छानबिन समिति गठन गरिने छ । त्यसपछि समितिले आफूहरु मध्येबाट एकजना संयोजक छानेर छानबिन गर्न टीओआर बनाउने छ । त्यसपछि समितिले छानबिनको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री यादवले सबै योजनाहरु दलालमार्फत बिक्री गरेको र मन्त्रालयको कयौं कार्यक्रमहरुमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै विपक्षी दलहरुले छानबिन गठन गर्न माग गरेका थिए । विपक्षी दलहरु संसदीय छानबिन समिति गठन नभएसम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएका थिए । तर सत्तापक्षले विपक्षीहरुको मागलाई अस्वीकार गर्दै प्रदेश सभाको बैठक नै अनिश्चितकालका लागि स्थगन गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि मात्र विरोधिहरुको माग सम्बोधन गर्न सभामुख मण्डल बाध्य भए । सहमति अनुसार प्रदेश सभामा भौतिक पूर्वाधार विकासमन्त्री यादवले झण्डै २ घण्टा लामो भाषण गर्दै आफ्नो सफाइ भन्दा माओवादी संसदीय दलका नेता समेत रहेका निवर्तमान अर्थमन्त्री भरतप्रसाद साह र जनता समाजवादी पार्टी(जसपा) नेपालका सभासद सरोज कुशवाहामाथि खनिए । उनले आफ्नो भाषणको अधिकांश समय साह र कुशवाहाको व्यक्तिगत आलोचनामा खर्च गरेका थिए ।

मन्त्री यादवले साह अर्थमन्त्री रहेको बेला बनाएको बजेटमा रकम लिएर योजना समावेश गरेको आरोप लगाउँदै बजेट ने ह्याक गरेर ठेकेदार हरुको मिलेमतोमा योजनाहरु बजेटमा प्रविष्ट गरेको आरोप लगाए । गृह तथा सञ्चार मन्त्री रहेको बेला साहले लिएको सुराकी रकम फिर्ता नगरेको, बिजुलीको महसुल नतिरेको जस्ता आक्षेप लगाउँदै मन्त्री यादवले प्रदेशको बजेटमा व्यापक गडबडी गरेको आरोप लगाए ।

मन्त्री यादवले रामगोपालपुर नगरपालिकामा सडक ढलानको शिलान्यास गर्न गएको बेला स्थानीय वासिन्दाहरुले खेदेका थिए । मन्त्री यादवलाई साहले नै शिलान्यास कार्यक्रममा विरोध गराएको बताउँदै आएका छन् ।

माओवादी दलका नेता साहलाई समेत योजना बिक्री गरेको आरोप लगाउन मन्त्री यादव चुकेनन् । त्यसैगरि उनले जसपा नेपालका सांसद कुशवाहामाथि सुराकीको रकम खाएको र फिर्ता नगरेको, कयौं योजनाहरु बिक्री गरेको लगायतका आरोपहरु प्रदेश सभामा लगाए । सांसद कुशवाहाले केही दिन पूर्व प्रदेश सभाको बैठकमा मन्त्री यादवको नाम नलिइकन योजना बिक्री गरेको आरोप लगाएका थिए ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखहरुले नै योजनाको कार्यदेश पत्रमा हस्ताक्षर गराएर पत्र मन्त्रीले नै आफ्नो नियन्त्रणमा लिएको कुशवाहाले आरोप लगाएका थिए । उनले अप्रत्यक्ष रुपमा मन्त्री यादवको मानसिक सन्तुलन जाँच गराउन सरकारी खर्चमा राँची पठाउने व्यवस्था मिलाउन बैठकमा माग गरेका थिए । त्यसबाट आक्रोशित बनेका मन्त्री यादवले संसदीय मर्यादालाई उल्लंघन गर्दै पूर्वमुख्यमन्त्रीदेखि सांसदहरुको नाम नै उल्लेख गरी अनेक आरोपहरु लगाएका थिए ।

बैठकमा मुख्यमन्त्री सतीश कुमार सिंहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेंट आफन्तकहाँ गएको बेला अचानक भएको बताउँदै प्रदेश सभालाई ढाँठे । उनी नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहको सहयोगमा भारतको गोरखपुरमा पुगेर मुख्यमन्त्री योगीलाई भेटेका थिए ।

योगीलाई भेट्न उनले पटक–पटक गरेको प्रयास असफल भएपछि गोरखपुरमा पुगेर संक्षिप्त भेट गरी फोटो सार्वजनिक गरेका थिए । बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले पनि आफ्ना धारणा राखेका थिए । अर्थमन्त्रालयको विषयमा उठेका प्रश्नहरुको उनले उत्तर दिएका थिए । विपक्षीहरुले अर्थमन्त्री यादवमाथि आरोप लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News