२०८१ चैत्र २८, बिहीबार ०८:५५

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले भेट गरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का कृषिमन्त्रीहरूको बैठकका लागि नेपालमा आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री चौहानले दुईपक्षीय सम्झौता र संयुक्त कार्य समुहहरूलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्धा छाडेर थाँती रहेका महत्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरूपमा काम गर्न आफू तयार रहेको बताए।

यस्तै, थाइल्याण्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशबीच आशाजनक भविष्य कोरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने कुरा भएको स्मरण गरे।

ओलीले बदलिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुुट हुनुपर्नेमा जोड दिए।

Comment


Related News

Latest News

Trending News