धार्मिक तथा ऐतिहासिक गंगासागर पोखरीको पूर्वतर्फको डिलमा स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माण गर्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका छन् ।
स्थानीयले गंगासागर पोखरीको डिल धार्मिक तथा सांस्कृतिक महत्वको रहेकाले यहाँ कुनै प्रकारको संरचना निर्माण गर्नु उपयुक्त नहुने स्थानीयवासीहरुको भनाइ छ । नेपाली कांग्रेसको अगुवाइमा शालिक निर्माण गर्ने काम अघि बढेपछि नेकपा एमालेलेसोको विरोध गरेको छ ।
नेकपा एमालेका नेता शिवशंकर साह ‘हिरा’ले आफूहरु शालिक निर्माणको विरोधमा नरहे पनि धार्मिक गंगासागरकै डिलमा नभइ अन्यत्र बनाउन सुझाएका छन् । उनले धार्मिक ऐतिहासिक स्थलको संरक्षण तथा संवद्र्धन गरी शालिक निर्माणका लािग वैकल्पिक स्थान खोज्न आग्रह गरे ।
स्थानीय समुदाय र सरोकारवाला पक्षहरूले आपसी समन्वय र समझदारीका आधारमा समाधान खोज्नुपर्नेमा बल दिँदै गंगासागरको ऐतिहासिकता जोगाउन चासो देखाउनु पर्ने आवश्यकता रहेको स्थानीय मनोज कुमार झाले बताए । स्वर्गीय रामनारायण मिश्र २०१५ सालमा तत्कालीन महोत्तरी क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । उनी पहिलो जननिर्वाचित बिपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए ।


