
लोकतान्त्रिक आन्दोलनका योद्धा गाँधीवादी नेता रामनारायण मिश्रको निधन भएको ५७ वर्षपछि मात्र स्मृति भवन निर्माण हुन लागेको छ ।
२०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारमा उद्योग मन्त्री रहेका नेता मिश्रले जनकपुरधाममा रोजगारीको अवसर सृजना गर्न जनकपुर चुरोट कारखानाको स्थापना गराएका थिए । अहिंसाका पुजारी नेता मिश्र समाजको उत्थान र विकासमा निरन्तर लागेका थिए । देहावसान भएको लामो अन्तरालपछि नेपाली कांग्रेसको सक्रियतामा मधेश प्रदेश सरकारको बजेटबाट गंगासागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण हुन लागेको छ ।
स्व.मिश्रको अन्त्येष्टि गरिएको स्थलमा निर्माण हुन लागेको सो स्मृति भवन अत्याधुनिक र आकर्षक रहेको छ । ५ करोडभन्दा बढी बजेटको लागतमा आगामी वर्षसम्म तयार हुने सो स्मृति भवन निर्माणका लागि नेपाली कांग्रेसका नेताहरु निर्माणस्थलमा डेरा डालेका छन् । निर्माण प्रारम्भ गरी ठेकेदार बेपत्ता हुने र योजना अलपत्र पर्ने राम्ररी बुझेका कांग्रेसका नेताहरु केही दिनदेखि गंगासागरको डिलमा नै भेट्ने गरेका छन् ।
कांग्रेस मधेश प्रदेशका सभासद रामसरोज यादव, युवा नेताहरु जीवनाथ चौधरी, प्रमोद चौधरी, वरिष्ठ चिकित्सक एवं राजनीतिकर्मी डा. विजय कुमार सिंह, स्मारक निर्माण समितिका पदाधिकारीहरु, मेयर मनोज कुमार साह, उपमेयर किशोरी साहलगायतको आउजाउ गंगासागरमा बढेको छ । १५ फिट अग्लो पिलरमा निर्माण गर्न लागिएको सो स्मारकको बीचबाट कालोपत्रे सडक, गंगासागरको आकर्षक घाट समेत रहने छ ।