२०८१ चैत्र ३०, शनिबार ०८:००

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले कहिल्यै पनि संस्थागत रूपमा कुशासनलाई बढावा नदिएको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले कांग्रेस सधैँ सुशासनको पक्षमा अडिग रहेको दाबी गरे । उनले भने, “व्यक्तिगत रूपमा कोही कुशासनको पक्षमा उभिन्छ भने उसले कानुनी सजाय भोग्नुपर्छ । इमानदार नभए सजायको भागेदार हुनैपर्छ ।” उनले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको विचार र सिद्धान्तलाई आज पनि आत्मसात गर्दै आएको उल्लेख गरे । डा. महतले कांग्रेस सबैभन्दा ठुलो र अनुभवसम्पन्न दल भएको जनाउँदै अरू दलहरू आउने– जाने भए पनि कांग्रेसले निरन्तर जनताको विश्वास जित्दै आएको बताए ।



कमला डाइभर्सन आयोजना कांग्रेसको प्राथमिकतामा पर्ने योजना भएको उल्लेख गर्दै डा. महतले हुलाकी राजमार्गको परिकल्पना पनि कांग्रेसले नै गरेको उनको दाबी छ । “कमला र बागमतीमा पुल निर्माण सम्पन्न भएपछि मधेशको लाइफलाइन बन्ने हुलाकी राजमार्गको काम तीव्र हुन्छ,” उनले भने, “यदि सरकार दृढ भयो भने दुई वर्षमै झापादेखि कञ्चनपुरसम्मको हुलाकी मार्ग पूरा गर्न सकिन्छ ।” उद्योग, व्यवसाय, पर्यटन र कृषिको रुपान्तरण नै मधेशको समृद्धिको मार्ग भएको बताए । उनले तराईको भूगोलले गर्दा उद्योग र व्यापारको सम्भावना पहाडभन्दा बढी छ, त्यसैले मधेशको योजनाप्रति कांग्रेस गम्भीर रहेको डा. महतले बताउँछन् ।

प्रदेश सरकारको भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिँदै डा. महतले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वयबाट मात्रै देशमा सुशासन कायम हुनसक्ने बताए । त्यस्तै, राजा र पञ्चायतकालको तुलना गर्दै उनले अहिलेको नयाँ पुस्तालाई त्यो युग सुनौलो जस्तो लागे पनि त्यतिबेला स्वास्थ्य, विद्युत, बाटोघाटो र नागरिकको जीवनस्तर निकै कमजोर रहेको स्मरण गराए । सामान्य नेपालीको आयु औसत ५५ वर्ष थियो, अहिले त्यो ७३ वर्ष पुगेको छ, त्यसकारण पनि लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै उनले बताए । उनले पार्टीको १५ औं महाधिवेशनको बारेमा बोल्दै उनले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार महाधिवेशन हुन्छ, यद्यपि, चार वर्ष पूरा भए पनि मङ्सिरमा महाधिवेशन हुने सम्भावना नरहेको बताए ।

Comment


Related News