नयाँ वर्ष २०८२ को स्वागतका लागि पर्साको वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित रात्रि बजार शनिबार स्थगित गरिएको छ ।
शुक्रबारदेखि शुरु भएको रात्रि बजार आइतबारसम्म सञ्चालन गर्ने योजना रहेको थियो । तर शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायबीच भएको हिंस्रक झडपपछि स्थानीय प्रशासनले कफ्र्यु जारी गरेसँगै महानगरपालिकाले शनिबारका लागि रात्रि बजार स्थगित गरेको जनाइएको छ ।
आइतबार वीरगञ्ज रात्रि बजार सञ्चालन हुने वा नहुने भन्ने विषयमा भने परिस्थिति हेरेर निर्णय लिइने महानगरपालिकाले जनाएको छ । कफ्र्यु जारी रहने वा नरहने भन्ने कुराले भोलिको बजारको निर्णय निर्धारण गर्नेछ । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर आदर्शनगरस्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो । यसको उद्देश्य वीरगञ्जको अर्थतन्त्रलाई चलायमान बनाउनु र अबेरसम्म बजार खुल्ने वातावरण सिर्जना गर्नु थियो ।
यसअघिका वर्षहरूमा पनि महानगरपालिकाले यस्ता रात्रि बजारहरू आयोजना गर्दै आएको थियो । वीरगञ्ज महानगरपालिकाले रात्रि बजार सञ्चालनका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेको थियो, जसमा ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर रहेका छन् । हाल वीरगञ्जमा कफ्र्यु जारी रहेकाले आइतबारको रात्रि बजार अन्योलमा परेको छ ।


