
वीरगन्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।
दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । कर्फ्युमा पनि प्रदर्शन जारी राखेपछि सडकमा सेना देखा परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे ।
योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । स्थानीय हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । अहिले उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
झडपमा १२ सर्वसाधारण, नेपाल प्रहरीका १५ जना र सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र पनि घाइते भएका छन् ।
दुई समुदायबीच भएको झडपको क्रममा चार मोटरसाइकलमा आगजनी र केहि होटेल पनि तोडफोड गरिएको छ । स्थिति अनियन्त्रित बनेपछि प्रहरीले करिब ७५ सेल आश्रुग्यास प्रहार गरेको थियो ।