मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव साम्य बनाउन पाँच बुँदे सर्वदलीय सहमति भएको छ ।
वीरगञ्जमा दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिबारदेखि जारी तनाव अन्त्य गर्न आइतबार पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा दिनभर भएको दुई पक्षीय, सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिक/साम्प्रादायिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु¥याउने सहमति भएको छ ।
त्यस्तै घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने, वीरगञ्जमा अब आयोजना हुने धार्मिक एवं सांस्कृतिक सम्बन्धि कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको छ ।
यसैगरि वीरगञ्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरसा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् । उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुदाँप्रति जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता, हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेको अर्यालले बताए ।
‘शनिबार बेलुकीदेखि वीरगञ्जमा लगाइएको कफ्र्यु भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने छ, त्यसपछिका लागि भने जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने छ । झडपको क्रममा वीरगञ्जमा ८ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको थियो । घटनामा सुरक्षाकर्मी सहित ३ दर्जन प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका थिए ।



