
सप्तरीको राजगढ गाउँपालिका–४ स्थित जमुवा टोलमा एक दलित मुसहर परिवारको घर स्थानीय जनप्रतिनिधिको निर्देशनमा भत्काएर सामुदायिक भवन निर्माण गरिने भएको छ ।
वडाध्यक्ष अशोककुमार साहले सामुदायिक भवन बनाउनका लागि भन्दै गत चैत २६ मा जवर्जस्ती डोजर लगाएर घर भत्काएको पीडित रञ्जनकुमारी सदाले जानकारी दिइन् । जमुवा टोलस्थित सार्वजनिक पोखरीको डिलमा बाबुबाजेकै पालादेखि बसोबास रहेकामा वडाध्यक्ष साहले आफूहरुको सहमतिबिना जबरजस्ती डोजर लगाई घर भत्काएपछि बिचल्लीमा परेको उनले बताइन् ।

‘मेरो पति र ससुरा बुबा घरमा रहँदासम्म केही गरेनन्, चैत २२ गते रोजगारिका लागि उहाँहरू पञ्जाब जानुभयो । चार दिनपछि वडाध्यक्ष र उनले परिचालन गरेका व्यक्तिहरुले जबरजस्ती घर भत्काए,’ रञ्जनकुमारीले भनिन्, ’घर नरहेपछि चार नाबालक छोर ासहित छिमेकीको घरमा शरण लिएर बसेको छु ।’
जवर्जस्ती घर भत्काएपछि उनले चैत २९ गते न्यायको माग र दोषीलाई कारबाहीको गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएकी थिइन् । उनको निवेदनमा प्रजिअ भोला दाहालले सम्बन्धित पालिकासँग सवन्मय गरी छानबिनसहित आवश्यक सहजीकरण गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीका नाममा तोकादेश गरेका थिए ।
राजगढ–४ का वडाध्यक्ष अशोककुमार साहले भने सामुदायिक भवन निर्माणका लागि सबैको सहमतिमा रञ्जनकुमारीको घर भत्काएको जिकिर गरे । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले वडा कार्यालयले सार्वजनिक जग्गामा रहेको घर सामुदायिक भवन बनाउन भत्काएको जानकारी आएको बताएका छन् । राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले प्रदेश सरकारबाट सामुदायिक भवन बनाउन २५ लाख रुपैयाँ बजेट आएको र भवन बनाउन वडा कार्यालय जग्गाको खोजीमा रहेको बताए ।