२०८२ बैशाख ३, बुधबार १६:०६

नेपाली कांग्रेसनिकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा राजीनामा बुझाएका छन्।

बुधबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट महिला संघ केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

अध्यक्ष उषाकुमारी राउत मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २० केन्द्रीय सदस्यहरूले राजीनामा दिएका हुन्।

चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, सीता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मीरादेवी चन्द, पार्वती चन्द, गीता गुरूङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल र पार्वती आचार्यले केन्द्रीय सदस्यबाट राजीनामा दिएको केन्द्रीय कार्यालयले जनाएको छ।

उनीहरूले सामूहिक राजीनामा पत्र सभापति, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू, महिला विभाग र निर्देशन समितिलाई बोधार्थ दिएका छन्।

कांग्रेसले चैतभित्र महिला संघको महाधिवेशन गर्न समय दिएको थियो। चैतभित्र महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरूलाई कांग्रेसले स्पष्टीकरणसमेत सोधेको छ।

सभापति शेरबहादुर देउवाले महिला संघ अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई २०७९ साउनमा नियुक्त गरेका थिए।

Comment

Related News

Latest News

Trending News