
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गरिरहेको आरोप लगाएका छन् ।
वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)को आह्वानमा जारी विभिन्न अभियानी संघ–संस्थाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सरकारमाथि आरोप लगाएका हुन् ।
‘सरकार अभिभावक हुनुपर्छ तर उल्टो शोषण गरिरहेको छ । नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय–समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन भएका छैनन्,’ बिहीबार शान्तिबाटिकामा आयोजित कार्यक्रममा महतोले भने, ‘आलटाल गर्दै पीडितलाई झनै पीडित बनाउने गतिविधिले सरकारप्रतिको भरोसा दिन–प्रतिदिन कम हुँदै गएको छ ।’
सरकारले गरेका वाचाहरू पूरा नगर्ने प्रवृत्तिले नै सरकार र शासन व्यवस्थाप्रति नागरिकको विश्वास कम हुँदै गएको उनको भनाइ थियो ।
‘पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब अलपत्र विश्वासको भरमा होइन, एकीकृत ढंगले अगाडि बढ्ने छ,’ अध्यक्ष महतोले भने ।