
जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरमा निःशुल्क आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
श्री जानकी आँखा अस्पतालको आयोजनामा र वडा कार्यालयको संयोजनमा वडा कार्यालय नजिकै रहेको धर्मशालामा संचालन गरिएको शिविरमा १६२ जना स्थानीयवासीहरूले आँखा परीक्षण गराएका छन्।
परीक्षण गराएकामध्ये ६० जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूको निःशुल्क शल्यक्रिया यही शुक्रबार जानकी आँखा अस्पतालमै गरिने वडाध्यक्ष रामचन्द्र पजियारले जानकारी दिएका छन्। बाँकी बिरामीहरूलाई पनि आवश्यक औषधीहरू निःशुल्क वितरण गरिएको छ।
वडाध्यक्ष पजियारका अनुसार यो शिविर विशेषगरी गरिब, विपन्न तथा ज्येष्ठ नागरिकहरूका लागि वरदान सावित भएको छ। “पैसावालाहरू त अस्पतालमै सेवा लिन जान्छन्, तर गरिब र वृद्धवृद्धाहरूले आफ्नै वडामा सेवा पाएपछि अत्यन्त खुशी देखिए,” उनले भने।
घरमै सेवा पाउँदा हर्षित भएका स्थानीयवासीहरूले आँखा परीक्षणको सेवा आफूहरूको लागि उपचार मात्र नभई फेरि संसार हेर्ने अवसर बनेको भन्दै आयोजक संस्था र वडा कार्यालयलाई धन्यवाद दिएका छन्।