२०८२ बैशाख ६, शनिबार ०७:५५

जनकपुरधामलाई मात्र होईन, सिंगै मधेशलाई औद्योगिक हब बनाउँने सपना साकार पार्न जनकपुर चुरोट कारखाना तथा वीरगञ्ज चिनी कारखाना स्थापनार्थ अहम भूमिका निर्वाह गर्ने रामनारायण मिश्रको निर्माणाधीन स्मृति भवन अचेल चर्चाको शिखरमा छ । समर्थन र विरोधका स्वरहरु घनिभूत छन् । मौखिक समर्थन र विरोधको वर्तमान अवस्था कतिवेला भौतिक आक्रमण–प्रतिआक्रमणमा परिवर्तन हुने हो ठेगान छैन । नगर दुई कित्तामा विभाजित छ ।

स्मृति भवन निर्माणस्थल अर्थात् गंगासागरको पूर्वी डिल नजिकका केही स्थानीयवासीको मधुरो विरोध अचेल राजनीतिक रुप धारण गरेको छ । सत्ताधारी दुई राजनीतिक दल कांग्रेस र एमालेबीचकोआरोप प्रत्यारोप दुबै दलका नेता तथा कहबैकाहरुको मानमर्दनसम्म आइपुगेको छ तर यस विरोध र समर्थनकाबीच स्मृति भवनको निर्माण भने धमाधम हँुदैछ । विवाद रामनारायण मिश्रको नाममा स्मृति भवन निर्माण गर्ने वा नगर्नेसंग सम्बन्धित छैन ।

गंगासागरको डिलमा गर्ने कि नगर्ने संग छ । १७ हौं शताब्दीको पहिलो दशकमा जनक दरबार अर्थात् सीता जन्मस्थल खोज्दै सूरकिशोर दास र चतुर्भुज गिरी जनकपुर आएका थिए । जानकी मन्दिरका आदि महन्त दास र राममन्दिरका आदिमहन्त गिरीलाई आधुनिक जनकपुरको खोजीकर्ताको रुपमा इतिहासकारहरुले वर्णन गरेका छन् । मकवानपुरका राजा इन्द्रविधाता सेनले यिनै चतुर्भुज गिरीलाई सन् १७०७ मा १४०० बिघा जग्गा कुशबिर्ता दिएका थिए ।

जुन जग्गामाथि आधुनिक जनकपुरको निर्माण भएको हो । पछि अमर सिंह थापाले भव्य राममन्दिर तथा ओरछा स्टेटकी महारानी बृषभानु कुम्मरिले जानकी मन्दिर निर्माण गरेका थिए । आज जनकपुर गुलजार छ । नेताजीहरु राजनीति गर्नु हुन्छ । महन्तजीहरु रजाई गर्नु हुन्छ तर आधुनिक जनकपुरका खोजीकर्ताद्वय सूरकिशोर दास र चतुर्भुज गिरी नामको चौक र प्रतिमा कहि कतै देखिदैनन् ।

आधुनिक जनकपुरको निर्माण जादूको छडीले रातारात भएको होईन । यसकालागि यहाँका आदरणीय अभियन्ताहरुले रगत–पसिना बगाएका छन् । सहृदयी दाता परिवारले खुलेर सहयोग गरेका छन् । जसमध्ये राम स्वरुप रामसागर साहद्वारा संचालित धर्मसंस्थाको अहम भूमिका छ ।

अन्तगृह परिक्रमा मार्ग सीमांकन गरी उक्त बाटोको दुबै किनारामा वृक्षारोपन गर्ने तथा विसं १९६६ मा याज्ञवल्क्य संस्कृत विद्यालय स्थापना गर्ने मौनीबाबा (अवधविहारी शरण), जनकपुर उद्योग वाणिज्य संघका संस्थापक रामबृक्ष चौधरी, गौरीनारायण डीठा, शंकटमोचन माध्यमिक विद्यालयका संस्थापकहरु देवशरण साह, रामरति देवी, बौएलाल साह, हजारी साहसंगै जनकपुर नगरपालिकाका प्रथम चेयरमैन श्यामसुन्द शर्मा, सरस्वती माध्यमिक विद्यालय र पछि राराब क्याम्पसका संस्थापक प्रिन्सिपल गंगाधर दत्त, जानकी पब्लिक अस्पतालका प्रथम मेडिकल सुपन्टिेण्डेन्ट डा.जयबल्लभ दास, राराब क्याम्पस, कन्या मावि, जानकी मावि, आंखा अस्प्ताल, अपाङ्ग संघसंगै अन्य शैक्षिक तथा स्वास्थ्य संस्था निर्माणमा व्यवस्थापकीय दायित्व निर्वाह गर्ने विकास पुरुष मकेश्वरप्रसाद सिंह, मेघप्रसाद उपाध्याय, हजारी जनक संस्कृत कलेज स्थापनार्थ जग्गा दान दिने हजारी साह, जानकी आँखा अस्पताल तथा राराब क्याम्पसको कर्मचारी भवन निर्माणमा सहयोग गर्ने बौएलाल साह, यस क्षेत्रमा संस्थागत ठूला उद्योग संचालन गर्ने दीनानाथ सर्राफ लायन्स, रियो, रेडक्रसजस्ता अन्तर्राष्ट्रिय संघ–संस्थाहरुको शाखा विस्तार गर्ने वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला, रामनगीना सिंह, युगलकिशोर लाललगायतलाई जनकपुरधामले चिनेको छ कि छैन् ?

२००७ को प्रजातान्त्रिक आन्दोलन, २०१६ देखि सुरु भएको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, २०३६ को जनमत संग्रह, २०४६ को ंबहुदलीय व्यवस्थाको लागि भएको जनआन्दोलन, २०५२ देखि सुरु भएको माओवादी जनयुद्ध तथा २०६२ र ०६३ सालको मधेश आन्दोलन जनकपुरका राजनेताहरुको निर्णायक भूमिका थियो । विसं २००४ सालमा भएको प्रथम सत्याग्रहमा यहाँका भिष्मजंग केसी, सरयुग चौधरी, मिश्रीलाल गुप्ता, लक्ष्मण साह, रामअशीष भगत, मेघप्रसाद उपाध्याय, दीगम्बर झा, रामाकान्त झा, महेन्द्रनारायण निधि, बच्चा झा, बलबहादुर मगर, नकुलबहादुर सिंह तथा कवि नरेन्द्र देव आदि जेल गएका थिए ।

२००७ सालको जनक्रान्तिमा जनकपुर मुक्ति बाहिनी सेना र राणाको सेनाबीच जनकपुरमा भएको संघर्षमा जनकपुरधाम, शिवपुर निवासी कंचन मुखिया र प्रेमसिंह राइ शहादत दिएका थिए । २०१७ सालमा राजा महेन्द्र शाहीकू मार्फत बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गर्दा पहिलो विद्रोह जनकपुरमै भएको थियो । जनकपुर भ्रमणमा आएका राजा महेन्द्रमाथि विसं २०१९ साल माघ ९ गते शहीद दुर्गानन्द झाले जानकी मन्दिर प्रांगणमा वम प्रहार गरेका थिए । २०२० साल माघ १५ गते मुलुकी ऐनमा संशोधन गरेर दुर्गानन्द झालाई फांसी दिइएको थियो ।

संघीय व्यवस्था र गणतन्त्रको पक्षमापनि यस भूमिले अग्रणी भूमिका निर्वाह गरेको छ । डा.एलएन झालाई शाही सरकारले २०४२ साल असार १४ गते विद्यापति चौकबाट बेपत्ता पारेको थियो । हालसम्म उनका परिवारजनले न स्वांस पाएका छन न त लाश पाएका छन् । लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनको क्रममा रामनारायण मिश्र, मास्सैब भन्ने रामबृक्ष यादव, सरोजप्रसाद कोइराला, सूर्यनाथ रान, ठाकुरप्रसाद ढुंगाना, श्रीधर ठाकुर, रामनारायण मण्डल मुडवल, भोला यादव सदृश्यका वीर शहीद भएको हामीले पढेकै हुनु पर्दछ । तर जनकपुरलाई धार्मिक, सांस्कृतिक, भाषिक, राजनीतिक तथा आर्थिकरुपले सम्पन्न बनाउँन अहम भूमिका निर्वाह गर्ने यी पूर्वजहरुलाई हामीले सम्मान गर्न सक्यौं ? निसन्देह सकिनौं ।

यहाँ २०१५ सालको निर्वाचनमा महोत्तरी संसदीय क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवारको रुपमा निर्वाचित रामनारायण मिश्र वि.पी. कोइराला नेतृत्वमा २०१६ साल जेठ १३ गते गठन भएको पहिलो जननिर्वाचित मन्त्रीमण्डलमा उद्योग तथा वाणिज्य मन्त्री बनाइएका थिए । यद्यपि राजा महेन्द्रले विपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारलाई ८ महिना नबित्दै २०१७ साल पुस १ गते सत्ताच्युत गरी देशमा पञ्चायती व्यवस्था लगाए तर यस ८ महिनाभित्र रामनारायण मिश्रले जनकपुर र वीरगञ्जमा देशकै दुई ठूला उद्योगको शिलान्यास गर्नु भयो ।

जचुकालि अचेल बन्द छ तर हामीले के पनि बिर्सिनु हुन्न भन्ने जनकपुरलाई औद्योगिक बाटोमा डो¥याउन, आर्थिकरुपले सम्पन्न बनाउँन जचुकालिको अहम भूमिका छ । जचुकालिको भव्य संरचना नभएको भए, जनकपुरधाम मधेश प्रदेशको राजधानी पनि बन्ने थिएन । अघिल्लो पुर्खाले गरेका सकारात्मक कामको फल चाख्ने अघिल्लो पुस्ताले उनीहरुलाई सम्मान पनि गर्न जान्नु पर्दछ । सूर किशोर दास, चतुर्भुज गिरी, मकेश्वर प्रसाद सिंह, मेधप्रसाद उपाध्याय, सरोजप्रसाद कोइराला, रामस्वरुप रामसागर साह, मौनीबाबा, हजारी साह, बौएलाल साह, डा.जयबल्लभ दास लगायतका आदरणीय अभियन्ताहरुको योगदान बारे वर्तमान पुस्तालाई जानकारी दिनु हाम्रो दायित्व हो । अचेल गंगासागरको पूर्वी डिलमा निर्माण हुन लागेको रामनारायण मिश्र स्मृति भवन यसकै नमुना हो । यसैगरि बांकी अभियन्ताहरुलाई पनि क्रमशः सम्मान गर्दे लै जानु पर्दछ । अन्यथा दुनियाले भन्ने छ– आफ्नै पुर्खालाई चिन्न नसकेको जनकपुरधाम ।

Comment


Related News

Latest News

Trending News