
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको छलफलमा शिक्षक आन्दोलन र समस्या समाधानका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने प्रतिबद्धता जनाए पनि शिक्षकहरु आश्वस्त हुन सकेका छैनन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिने अडान लिएका छन् ।
छलफलमा महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।
विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर शिक्षकहरुले चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
शैक्षिक हडतालसहित आन्दोलित शिक्षकहरुले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
शिक्षकहरुको आन्दोलनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षण अनिश्चित बन्दै गएको छ ।
सरकारले संसदको शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि यही वैशाख १२ गते सङ्घीय संसदको अधिवेशन आह्वान गरेको छ ।
सरकारले संसदको यही अधिवेशनबाट शिक्षा विधेयक पारित हुने भन्दै विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन आह्वान गर्दै आएको छ । तर शिक्षकहरुले विगतमा भएका सहमतिअनुसार विधेयक पारित भएपछि मात्र विद्यालय फर्कने अडान लिएका छन् ।