
आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ । तर खेल वर्षाले प्रभावित हुँदा अहिलेसम्म टस हुन सकेको छैन ।
यो खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी मैदानमा शुरु हुनुपर्ने थियो । अहिले मैदान भिजेका कारण टसमा ढिलाइ भएको छ । आजको खेल सम्भव नभए दुवै टोलीले एक/एक अङ्क बाँड्नेछन् ।
त्यसो हुँदा नेट रनरेटका अगाडि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ । उसले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।
प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो ।
यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।