२०८२ बैशाख ७, आईतवार ०७:२५

संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजा फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राजावादीहरु एकजुट भएर अगाडि बढिरहेको बेला संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएका छन् ।

राप्रपा सहितको राजावादीहरुले आइतवार संघीय राजधानी काठमाण्डुको निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको पूर्वसन्ध्यामा देशका ठूला तीन दलका शीर्ष नेताहरुबीच गणतन्त्रको रक्षा गर्ने सवालमा सहमति भएको छ । गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच शनिबार सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बसेको बैठकमा शीर्ष तीन नेताहरूबीच संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच शनिबार अपरान्ह छलफल भएको थियो ।

करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल सहभागी थिए । ‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ बैठकपछि खरेलले भने , समसामयिक राजनीतिक विषयसँगै अन्य विषयहरुमापनि छलफल भएको छ ।

‘विद्यमान देशको परिस्थितिबारे तीन शीर्ष नेताहरूको बैठक बसिएको हो’ खरेलले भने, विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशीतासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा नेताहरु एकमत भएका छन् । बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे नेताहरूलाई जानकारी पनि गराइएको उनले बताए । तीन दलका शीर्ष नेताहरुको बैठकले आइतवार राजावादीहरुको प्रदर्शनलाई विशेष निगरानी सरकारले राख्ने भएको छ ।

राजावादी पार्टी राप्रपाले आइतबार राजधानीमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रदर्शन तय गरेको छ । राप्रपा स्रोतका अनुसार बिजुलीबजारमा भेला भएर बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गर्नेछ । बिजुली बजारबाट निस्कने जुलुसको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिंगदेनले गर्ने बताइएको छ । उनले बानेश्वर तर्फबाट निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले आइतबार मध्याह्न १२ बजे बिजुलीबजार पुलमा भेला भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । स्रोतका अनुसार बालुवाटार र भद्रकालीबाट पनि निषेधित क्षेत्र तोड्ने प्रयासमा हुने जनाएको छ । त्यसका लागि थप दुई कमाण्डर तोकिएको छ । उनीहरुले पनि निषेधित क्षेत्र तोड्ने र त्यस क्रममा गिरफ् तारी दिने स्रोतले जनाएका छन् ।

गत चैत १५ गते राजावादी र राप्रपाले संयुक्त रुपमा तिनकुनेमा गरेको प्रदर्शनको क्रममा राप्रपाका वरिष्ठ उपाध्पयक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालगायतलाई पक्राउ गरिएको थियो । राजावादी दुर्गा प्रसाईपनि पक्राउ परेका छन् ।पक्राउ परेकाहरु माथि मुद्दा चलाइएको छ । राप्रपाले उनीहरुलाई बिना शर्त रिहा गर्नुपर्ने माग गर्दै आएको छ ।

पक्राउ परेकाहरुको रिहाइ र राजतन्त्र पुनःस्थापनाका लागि राप्रपाले आन्दोलन चर्काउन थालेका छन् । राप्रपाको प्रदर्शनमा जगमान गुरुङ कार्यबाहक संयोजक रहेको संयुक्त आन्दोलन समितिले पनि साथ दिने भएको छ । गुरुङले शनिबार जारी गरेको विज्ञप्तिमा संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर आइतबारदेखि राप्रपा लगायत सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरूबाट आयोजना हुने कार्यक्रमहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने उल्लेख छ । उनले ती कार्यक्रमहरूमा सहभागी हुन समेत अनुरोध गरेका छन् ।

नेपाल शिक्षक महासंघले आन्दोलन जारी राखेको बेला राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी गर्न लागेको प्रदर्शनले आइतबार काठमाण्डुको स्थिति तनावग्रस्त बन्न सक्ने बताइएको छ । गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजिए कारबाही गरिने बताएको छ । चैत १५ को घटनापछि निकै आलोचित बनेको प्रहरी यस पटक निकै सजग देखिएको छ ।

Comment


Related News

Latest News

Trending News