
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समिति देशव्यापी संरचना विस्तारको तयारीमा जुटेको छ ।
समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकका सबै ७७ वटै जिल्लामा जिल्ला स्तरीय समिति निर्माण प्रक्रिया सुरु भएको जानकारी दिएको छ । समितिको लक्ष्य स्पष्ट रहेको बताउँदै, समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विज्ञप्तिमा देशका राष्ट्रप्रेमी, देशभक्त र राष्ट्रवादी नागरिकहरूलाई यो अभियानमा सक्रिय सहभागी हुन हार्दिक आग्रह गरेका छन् ।
‘सङ्गठित र दीर्घकालीन परिवर्तनको मार्गमा समिति देशव्यापी जनसहभागितासहित अघि बढ्न तत्पर छ,’ विज्ञप्तिमा उल्लेख छ । संयुक्त जनआन्दोलन समितिको यो कदमले आगामी दिनमा मुलुकको राजनीतिक बहसमा नयाँ धार ल्याउने अनुमान गरिएको छ ।