२०८२ बैशाख ८, सोमबार ०७:१९

जनमत पार्टीमा केही महिनादेखिको विवाद अब प्रहरीसम्म पुगेको छ । पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादव ठगी मुद्दामा पक्राउ परेका छन् ।

यादवले अध्यक्ष डा.सी.के. राउतले पार्टीको रकम हिनामिना गरेको लगायत कयौं आरोप लगाएका थिए । यादव उपर पार्टीको अनुशासन विपरीत कार्य गरेको, पार्टीको कोष हिनामिना गरेको लगायतका आरोप लगाउँदै स्पष्टीकरण सोधिएको थियो ।यादवले स्पष्टीकरणको जवाफ दिए पनि चित्त बुझ्दो नभएको भन्दै उनलाई अध्यक्ष राउतले निलम्बन गरेका थिए ।

पार्टीको कोष हिनामिना गरेको लगायतको आरोप सहित पार्टीको तर्फबाट केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादवले प्रहरीमा उजुरी दिएको थियो । सो उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले यादवलाई पक्राउ गरेको छ । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले ललितपुर प्रहरी परिसरको पत्रपछि ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार पक्राउ गरिएको जनाएका छन् ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवको जाहेरीमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता भएको हो । ललितपुर जिल्ला अदालतवाट जारी पक्राउ पुर्जीका आधारमा यादवलाई नियन्त्रणमा लिइएको खतिवडाले बताएका छन् । उनलाई ललितपुर पठाइएको एसपी खतिवाडाले बताए ।

पार्टीको कोष हिनामिना गरेको तथा पार्टी र अध्यक्षविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै जनमत पार्टीले यादवलाई केही समयअघि निलम्बन गरेको थियो । तर यादवले निलम्बन बिरुद्ध अध्यक्ष राउतमाथि प्रश्न उठाउँदै पार्टीमा तानाशाही गरेको आरोप लगाएका थिए ।निलम्बित कोषाध्यक्ष यादवले भने अध्यक्ष राउतले विभिन्न स्थानबाट आएको चन्दा रकम हिनामिना गरेको र सो को हिसाब माग्दा निलम्बन गरेको आरोप लगाएका थिए ।

पक्राउ परेका यादवमाथि प्रवक्ता यादवले गरेको मुद्दामा जनमत पार्टीका पाँच जना संघीय सांसद साक्षी रहेको बताइएको छ । जनमत पार्टीमा केही समययता अध्यक्ष राउतको विरोध गर्नेहरुलाई कारवाही गरी हटाइएको छ । पार्टीको स्थापनाकालका सहयोगीहरुलाई पाखा लगाइएको र रकम लेनदेनको आधारमा अध्यक्षले काम गरेको आरोप लगाउन थालिएको छ ।

संघीय सरकारलाई समर्थन गरेको जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । पार्टीका मुख्यमन्त्रीमा संसदीय दलका नेतालाई मौका नदिएको कारण पनि आर्थिक चलखेल रहेको आरोप हालै केही नेताहरुले लगाएका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) बीच एकीकरणको काम अन्तिम चरणमा पुगेको बेला निलम्बित कोषाध्यक्षमाथि अध्यक्ष राउतले मुद्दा लगाएको छ ।

नेपालको राजनीतिक इतिहासमा कोषाध्यक्षले पार्टीको कोष हिनामिना गरेको र अपराधिक विश्वासघात गरेको अभियोग लगाउँदै मुद्दा दर्ता गरिएको छ । पार्टीको अनुशासन समितिका संयोजकमाथि नै अनुशासनको कारवाहीगरि निलम्बन गरिएको छ । अध्यक्ष राउतको घेरा अहिले निकै साँघुरिएको पार्टीका कयौं युवा नेताहरुले बताउन थालेका छन् ।

प्रदेश सरकारमा योजना बिक्रीको आरोप मुख्यमन्त्री, मन्त्री र सभासदहरुमाथि समेत लागेको छ । प्रदेश सभामा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले गरेको खुलासामा मुख्यमन्त्री सतीश कुमार सिंहले झण्डै सवा अर्ब रुपैयाँको योजना लिएका छन् । ती योजनाहरु पनि बिक्री गरिएको आरोप छ ।

पार्टी र सरकारमा शुद्धिकरणको मुद्दा उठाउने जनमत पार्टीले कोषाध्यक्षमाथि ठगी मुद्दा चलाउँदा प्रदेश सरकारमा भइरहेको भ्रष्टाचारलाई ढाकछोप गरिरहेको छ । प्रदेश सरकारले जनभावना अनुरुपको ‘डेलिभरी ’दिन नसकेको आरोप पार्टी भित्रैबाट लागिरहेको छ । जनमत पार्टीका अध्यक्ष डा. राउतले श्रीमतीसित सम्बन्ध विच्छेदको मुद्दा लडिरहेको बेला पार्टीको तर्फबाट प्रवक्ता डा.यादवले निलम्बनमा परेका कोषाध्यक्ष यादवसित ठगी र आपराधिक विश्वासघातको मुद्दा लडिरहेका छन् ।

पक्राउ परेका यादवले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्दै सत्ताको चरम दुरुपयोग गरी मुद्दा चलाइएको बताएका छन् । उनले अध्यक्ष राउतमाथि नै पार्टीको कोषबाट लिएको रकम फिर्ता नदिएको र हिसाब समेत नबुझाएको सार्वजनिक गरेका थिए ।

Comment


Related News

Latest News

Trending News